काठमाडौं : नेपाली साझा मञ्च राष्ट्रिय समन्वय समिति साउदी अरेबियाले उक्त मुलुकमा कार्यरत नेपाली कामदारहरूको हकहितका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।
मञ्चका महासचिव राजु केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार मन्त्री भण्डारीलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । मन्त्री भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै मञ्चले साउदी अरेबियामा ठूलो संख्यामा नेपाली कामदार रहेको र उनीहरू विभिन्न समस्याबाट गुज्रिरहेको बताएको छ ।
मञ्चका महासचिव केसीले राहदानीको समस्या, जनचेतनाको कमीले साइबर अपराध, मदिरापान, आत्महत्या, घरेलु महिला कामदार, बन्दी अवस्थामा रहेका नेपालीको उद्धार, नेपाली कामदार भर्ना र सप्लाइ कम्पनीमार्फत जाँदा हुने समस्या र झन्झटलगायतका समस्या समाधानका लागि आग्रह गरे ।
त्यसैगरी मञ्चले नेपाली कामदारको बाहुल्यता रहेका जुबेल, दम्माम, अलहासा, होपुभ, जिजान, ताबुकजस्ता स्थानमा राहदानी र राजदूतावासका सेवा विस्तार र नेपालीको न्यूनतम तलब १३ सय रियाल पाए–नपाएको नियमित अनुगमन गर्न पनि मन्त्री भण्डारीको ध्यानाकर्षण गरायो ।
जवाफमा मन्त्री भण्डारीले मञ्चले उठाएका समस्यामा मन्त्रालय जानकार रहेको जवाफ दिँदै साउदी अरेबियासँग गरिने द्विपक्षीय श्रम सम्झौतामा समस्याहरूको स्थायी समाधान गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए ।
त्यसैगरी मन्त्री भण्डारीले साउदी सरकारले घरेलु कामदारलाई दिएको एमनेष्टी कार्यक्रम त्यहाँ कार्यरत नेपालीसमक्ष पुर्याउन र नेपाल सरकारले वैधानिक अवस्थामा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति लिन पाउने गरी गरेको निर्णयमा सबैलाई सहभागी गराउन मञ्चले अभियान थाल्नुपर्ने सुझाव दिए ।
मञ्चले विदेशमा नेपालीहरू विभिन्न प्रकारले अलपत्र पर्ने र हवाई टिकटको अभावमा घर फर्किन समस्यामा पर्ने क्रम बढेको भन्दै स्थानीय तहका वडाहरूले आफ्नो वार्षिक बजेटमा कम्तीमा ३ जना अलपत्र कामदार उद्धारका लागि कोषको व्यवस्था गर्नुपर्ने धारणासमेत अघि सारेको छ । त्यस अवसरमा साउदी अरेबियाका लागि नवनियुक्त काउन्सिलर श्रम कविराज उप्रेती र मञ्चका मञ्चका अन्य प्रतिनिधिहरू सुनिता दंगाल, राजाराम कायस्थ र राजकुमार नेपालीको सहभागिता रहेको थियो ।