काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भइ काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङ बडिगाड गाउँपालिका–९ घर भइ भक्तपुर सुर्यबिनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापा मेचीनगर नगरपालिका–१० घर भइ काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्का रहेका छन् ।
पक्राउ मध्ये कमला कुमारीले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ८ लाख २५ हजार रूपैयाँ, सीताले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र मनिशले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कमलालाई काठमाडौं बानेश्वरबाट र सीतालाई काठमाडौं डिल्लीबजारबाट आइतबार तथा मनिशलाई काठमाडौं टेकुबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।