२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

इद धमाका कार्यक्रम : कतारमा खेम, समीक्षा, उर्गेन र निर्जलाले मच्चाए धमाका

Nada
तिलु शर्मा पौडेल
२०८१ असार ४ गते १९:२०
Shares
इद धमाका कार्यक्रम : कतारमा खेम, समीक्षा, उर्गेन र निर्जलाले मच्चाए धमाका

दोहा, कतार : गोरखा सेवा समाज कतारले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गोरखामा मानव सेवा आश्रमको निर्माणाधीन भवन सहयोगार्थ आयोजित कार्यक्रम इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अज्हाको अवसर पारेर आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूसहित स्थानीय कलाकारहरूले समेत धमाका मच्चाएका छन् । 

ncell

अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा सोमबार सम्पन्न कार्यक्रममा निरु श्रेष्ठ र सिम्रन श्रेष्ठले स्वागत नृत्य राखेका थिए । नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिका निर्जला गुरुङले कार्यक्रमको ढोका खोल्दै आफ्ना प्रस्तुति राखिन् । उनले ‘माया छ भनेर’, ‘चोखो माया’, ‘गोर्खैको डाँडैमा हावा सरर’लगायतका आधा दर्जन गीत पस्केर दर्शकहरुलाई मनोरञ्जन दिइन् ।

 

करिब दुई हजार दर्शक उपस्थित कार्यक्रममा लोक तथा दोहोरी गायक खेम सेन्चुरीले ‘बेला बेला चुप्पा गर’, ‘कट्टा हान्दिन्छु’, ‘सुर्ती माड्दै’, ‘मेरी बास्सै’जस्ता आधा दर्जन आफ्ना हिट गीत गाएर दर्शकलाई असिन पसिन हुने गरी नचाए ।

सेन्चुरीलगत्तै स्टेज चढेकी भर्सटायल गायिका समीक्षा अधिकारीले हुटिङको वर्षातका बीच  ‘बालापन’, ‘बुझिन मैले’, ‘कुरा बुझ्न पर्छ’, ‘धनगढीको बसमा’, ‘न बोली न बोली’जस्ता आधा दर्जन गीत गाइन् । उनको प्रस्तुतिमा दर्शकहरू झुमेर नाचिरहे । खेम र समीक्षाले संयुक्तरूपमा ‘सुर्ती माड्दै माड्दै’ बोलको गीत गाउँदा हल हुटिङले गुञ्जयमान भएको थियो ।

कार्यक्रमको अन्त्यमा स्टेज चढेका भर्सटायल गायक उर्गेन दोङले ‘टाढा भए पनि’, ‘मायालु आउने दिन गन्दै’, ‘हाम्रो यो माया’, ‘सैया’, ‘तामाङ दाइ’जस्ता आधा दर्जन आफ्ना कोसेली पस्किए । उर्गेनको प्रस्तुतिको प्रखाईमासाँझ ६ बजेसम्म बसेका दर्शक हुटिङ गर्दै झुमेर नाचेका थिए । सबै कलाकारले दर्शकबाट वान्समोर पाइ नै रहे ।

कार्यक्रममा मानव सेवा आश्रमका बारेमा आश्रम कतार च्याप्टरका संयोजक रामजी खत्रीले प्रष्ट पारेका थिए । समाजका अध्यक्ष ओमराज गुरुङको सभापतित्व तथा नेपाली दूतावास कतारका नियोग उपप्रमुख कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमका उद्देश्यका बारेमा कार्यक्रम संयोजक राकेश श्रेष्ठले प्रष्ट पारेका थिए ।

पञ्चेबाजाको धुनसँगै राष्ट्रिय गान बजाएर दीप प्रज्वलन गरिएको कार्यक्रममा सीमित व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए । कलाकारहरू विशाल गुरुङ, बिरेन मादेन, जीवन खालीङ राई, रुस्तम तामाङलगायतले आफ्ना प्रस्तुति दिएका थिए ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राईले मानवीय तथा परोपकारी कार्यका लागि समाजले एउटा ऐतिहासिक कार्यक्रम गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे । समाजका महासचिव अर्जुन संग्रौलाले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापति गुरुङले गृह जिल्लामा कार्यक्रमलाई सफल बनाउन विभिन्न तह र तप्काबाट सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरे ।

ताजा खबर

सम्बन्धित खबर