काठमाडौं : वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन, भरतपुर महानगरपालिका–४ त्रिचोकका २५ वर्षीय सुरज कँडेल, भरतपुर महानगरपालिका–१० ज्ञानदर्शन टोलकी ३६ वर्षीया शारदा सुवेदी र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ घर भइ भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बाँस्तोला रहेका छन् ।
पक्राउ परेकामध्ये चितवनका सुरजले बेलायतमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक लाख रुपैयाँ, शारदाले पनि बेलायत पठाइदिन्छु भन्दै एक लाख र प्रितिकाले दुबई पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीले पक्राउ परेका उनीहरुलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको छ ।