–मिम लाल श्रेष्ठ
चार वर्षपछि पुनहिल यात्रा, मनमा उमङ्ग र उत्साह छ । माछापुच्छ्र्रे कस्ती भइहोली ? धम्पुस गाउँ र नौडाडाको लोभलाग्दो स्मृति अनायासै आँखामा चुम्बकझै टाँसीन आउँछ । पञ्चासे डाँडा छिचोलेका मेरा पाइलाहरू अझै मेटिएका छैनन् होला ? मोदी खोलाका मिठा माछा सम्झेर मुख रसाउँछ । चार वर्षअघि मनमोहक पुनहिल चुमेको स्मृतिको प्रतिबिम्ब फेवातालमा बिलिन भइसकेको छैन । सुनसान रातमा निन्द्राबाट झल्यास्स ब्यूँझन्छु । रातीको दुई बजेको हुन्छ । निदाउने प्रयास गर्छु तर, सक्दिनँ । छटपटी र लामो सुस्केराहरूले बाँकी रात छिचोल्छन् । थाहै भएन, मिर्मिरे उज्यालो धरतीमा झरिसकेछ ।
सिल्क र उतजेब नेपाल घुम्न आएका छन् । उनीहरू दुवै जर्मन नागरिक हुन् । सिल्क पहिलो पटक नेपाल आएकी हुन् तर, उतजेब यसअघि पनि आएकी थिइन् । मैले अघिल्लो साँझ नै दुवै जनालाई भोली सबैरे उठ्नुपर्छ भनेको थिएँ । विदेशी वचनका पक्का हुन्छन् । सिल्क र उतजेब बिहान सबेरै उठी, हातमुख धोएर झोला मिलाए । उनीहरू यात्राका लागि तयार भए । हामीले सँगै कफि पियौं अनि निमेशभरमा खुसी हुँदै घरबाट निस्कियौं ।
छल्र्लङ्ग उज्यालो भइसकेको छ । हामी ट्याक्सी चढेर सोह्रखुट्टेतिर लाग्छौं । त्यहाँ स्वीफ्ट होलिडेजको बसले हामीलाई पर्खिरहेको हुन्छ । शरद् ऋतुमा पहाड र हिमालतिर जाने पर्यटकहरू बस चढ्न आतुर भइरहेका छन् । हामीले हाम्रा झोलाहरू बसको सह–चालकलाई जिम्मा दियौं र सबैजना सफा बसभित्र बस्यौं । छिनभरमा बस पोखरा जान काठमाडौंबाट छुटिहाल्यो ।
बस काठमाडौंलाई सुस्तरी छिचोल्दै पश्चिमतिर लाग्छ । काठमाडौं निन्द्राबाट पूर्णरूपमा नब्यूूँझिँदै हामी नागढुंगा पुग्छौं । त्यहाँबाट हामीले बल्ल निन्द्राबाट ब्यूूँझिसकेका गाउँबस्ति देख्छौँ । हरिया पहाड र हिमश्रृंखलाहरू देख्छौं । बसको झ्यालभित्रबाट पर्यटकहरू मोबाइल झिकेर सुन्दर पहाड र हिमश्रृंखलाका फोटा खिच्न थाल्छन् । म चाँहि मनमनै आहा ! हाम्रो नेपाल भन्दै फुरुङ्ग हुन्छु । बस नौबिसेमा रोकियो । त्यहाँ हामीले तातो कफि पियौं । आँखा पहाडतिर नाँचे । खुड्कीला जस्तो हरियो खेतमा ग्रामीण सभ्यताका स–साना घरहरूको समूूह मानौं त्यो कुनै जादुगरले बनाएको चित्रजस्तो देखिन्थ्यो । त्यसलाई थापा गाउँ भन्दा रहेछन् । निमेशभरमा बस गुडीहाल्यो । झ्यालबाट फुलबुट्टे गाउँबस्ती, वनजङ्गल, पहरा, छहरा, दक्षिणतिर बगेका स–साना नदीहरू हेरेर म सबथोक बिर्सन्छु ।
केही समयपछि हामी मलेखु पुग्छौं । त्यहाँ त्रिशुली नदीको किनारमा बसेर हामीले खाजा खायौं । त्रिशुलीको पानी निक्कै धमिलो थियो । पानीसँगै बगेर आएका फोहोरहरू किनारमा थुपार्न त्रिशुलीको छेउकुना पोखरी झै घुमिरहेको दृश्य हामीले अचम्म मानेर हेर्यौं । पर्यटकहरूले फोटो खिचे, मैले खिचिनँ । मैले सम्झे, फोहोर नदीमा माछाहरूको जिन्दगी, फोहोरले गाँजेको प्रकृति र मनुष्यहरूको फोहोर प्रवृत्ति.....। मैले लामो स्वास फेरेँ । बसको हर्न बज्यो । हामी बसभित्र बस्यौं र अघि बढ्यौं ।
धमिलो पानी बोकेर त्रिशुली दक्षिणतिर बगिरह्यो । हामी पश्चिमतिर गुड्यौ । कतिबेला धादिङ्ग कटियो पत्तै भएन । एकैछिनमा तनहुँको ब्यास नगरपालिका–१२ मा पुगिसकेछौं । त्यहाँ पुनः बस रोकियो । हामीले कफी पियौं र निमेशभरमा त्यहाँबाट पोखरातर्फ लाग्यौं । पोखरा नपुगुन्जेल सडकमा एकबित्ता कालोपत्रे देखिएन । मैले सम्झिए देशको राजनीति र राजनीतिको क्यान्सर लागेको विकासको बिम्ब ।
धुलोमैलोमा गुडेको बसले जब सेतीको सिमाना छिचोल्यो तब मन फुरुङ्ग भयो । कालो रंगको पातलो बादलले आकाश ढाकेको थियो । मसिना पानीका थोपाहरू प्रकृतिमा खसिरहे । साँझको कुहिरोभित्र माछापुच्छ्रे लुक्यो । तुवालोभित्र पहाडहरू लुके । मधुरो गोधुलीभित्र सेती लुक्यो । सुन्दर पोखरा नै लुके झै लाग्यो र मेरो उमङ्ग पनि लुक्यो । हामी बेलुका ५ः५० बजे पोखरा पुग्यौं ।
मेरा पुरानो साथी निर्मल थापा ट्याक्सी लिएर हामीलाई लिन त्यहाँ आईपुगे । बेलुका ६ः१० बजे हामी होटल प्लाजा अन्नपूर्णमा पुग्यौं । त्यहाँ आधा घण्टा विश्राम गरेपछि सबैजना साँझको फेवाताल अवलोकन गर्न निस्कियौँ । आकाशको बादल हटेको थिएन । तर, जमिनको पानी ओभाइसकेको थियो । बिजुलीको झिलिमिली तारापुञ्जभित्र पोखरा नामको सुन्दरी सहर श्रृगारिएर थपक्कै बलेको थियो । विश्वमुलका मानिसहरू सडकमा देखिन्थे । उनीहरू दक्षिण फेवाताल किनारतर्फ जान हतार गर्थे । फेवाताललाई पर्खाल बनाएर बिजुलीको उज्योलमा सेल्फी खिच्नु तिनको निम्ति पृथ्वीलोकमा सबैभन्दा आनन्दको क्षण बनेझै देखिन्थ्यो । हामी खुसी हुँदै फेवातालको किनारको भ्रमण गर्यौँ ।
बाटो चित्रकारले कोरेको रेखाजस्तो सुन्दर थियो अनि देब्रेपट्टी महारानी एलिजाबेथको स्वर्ग जान बाटातर्फ गमलामा रोपेका फुलहरूजस्ता सुन्दर स–साना खानाका पसलहरू देखेर हामी छक्क पर्यौं । कसैले भर्खर चुँडेर फालेका फुलजस्ता सुन्दरी पसलको आँगनमा बसेर अतिथि बोलाउँथे । हामीले त्यो चित्रकारी रमझम हेर्यौं मात्र । केही समय फेवातालको छेउमा तस्विर खिचेपछि हामी त्यो रात बस्ने होटलतर्फ आयौं । बाटोमा आकर्षक चिल्लिवार रेष्टुरेण्ट देख्यौं । मन लोभियो । हामीले बेलुकाको खाना त्यहीँ खायौँ । अनि सुत्नको लागि कृष्ण लामाको होटल प्लाजा अन्नपूर्णमा आयौं ।
दोस्रो दिन, थकान खासै थिएन । बिहानै निद्राले छोडिहाल्यो । पोखरालाई कुहिरोले छपक्क ढाकेर मसिनो पानी परिरहेको थियो । मन चिसो भयो । दिनभरी पानी परिरह्यो भने उल्लेरी कसरी पुग्ने ? यात्रा सोचेझै नहुने होला भनेर मन नरमाईलो भयो । तर, जानु त छ नै । हामीले किहानको खाजा र कफि खायौं । अनि उल्लेरीसम्मको यात्राको निम्ति तयार भयौं । मेरा मित्र निर्मलले तुरुन्त ट्याक्सी लिएर आए । हामी आकाशबाट बर्सिरहेको सानो पानीमा भिज्दै ट्याक्सीमा बस्यौंँ । ट्याक्सी उत्तरतिर हुँइकियो । एकैछिनमा ट्याक्सी रोकेर तीनवटा रेनकोट किनेर झोलामा हाँले अनि तुरुन्त ट्याक्सीमा बसिहालेँ । झिमझिम पानी परिरह्यो । उत्तरतिर गुडेको ट्याक्सी रोकिएन । सफा रोडमा ट्याक्सी गुडिरह्यो । मेरोे मष्तिक्सले भन्यो– यो सुन्दर पोखरा हो । तर, निमेशभरमा सेती नदी देखियो । किनारको कच्ची सडकमा ट्याक्सी गुड्यो । सडक हिलो, मैलो र फोहोर थियो ।
पश्चिमका धेरै जिल्लामा सवारी गुड्ने त्यो सडकको अवस्था दयनीय थियो । मैले सम्झिए पोखराका मेयर धनराज आचार्य । मेरा धेरै प्रश्न जन्मिए । हामीले सेतीको पुल तरिहाल्यौँ । बादलमाथि माछापुच्छ्रे हिमालका चुचुराहरू देखिन थाले । वारी हरियो नौंडाडा, पारी हिमाल अनि बिहानीपखा प्रकृतिमा पोखीएको सुन्दर घामको चित्रकारी प्रकृतिको बुलबुट्टे हेम्जा सडक ट्याक्सी गुडिरह्यो । महाकवि देवकोटाले भनेझै सुन्दर, शान्त, विशाल नेपाल मैले घुमफिर गरेका विदेशमा यो चित्रकारी प्रकृतिको सौन्दर्य त्यहाँ देखेको थिइँन । तन्नेरी पहाडका हरियो वनको स्वच्छताभित्र तपस्वी चित्रकारले कोरेको रेखाजस्तो सफा र सुन्दर सडक आधा घण्टा उकालो चढेपछि मनमोहक लुम्ले आईपुग्यो । बाक्लो कुहिरोले लुम्लेको डाँडालाई छपक्कै ढाकेको थियो । लुम्लेकटेपछि सडकमुनि कुहिरो सुतेको देख्यौं । फुटेको सिसाझैं सडकमुनी कुहिरोका स–साना प्वालबाट तलका भिरालो खेत, नदी र स–साना फुलबुट्टे घरहरू देखिन्थे । एकजना अपाङ्ग मानिस वैशाखी टेकेर मर्निङ वाक हिँडिरहेका थिए । अलि पर अर्धबैंसे गर्भिनी पनि लोग्नेको हात समातेर सुस्तरी मर्निङ्ग वाक हिँडिरहेकी थिइन् । करिब तीन घण्टा स्वीजरल्याण्डका पहाड छिचोलेझै ट्याक्सीमा गुडेपछि हामी नयाँ पुल तरेर रोकियौं । बिरेठाँटीबाट हाम्रो पैदल यात्रा सुरु भयो । हामी बरौंदी खोलाको तिरैतिर उकालो चढ्यौं । वर्षौंअघिको पदयात्रीको गोरेटोमा अहिले सडक बनेछ । बुढाबुढी पर्यटकहरू सुमो र उपलव्ध सवारी साधानमा पहाड जाँदा रहेछन् । बाटोमा पदयात्रीबाहेक पातलो पहाडे बस्तीमा मानिसहरू कतै देखिँदैनथे ।
डेढ घण्टा हिँडेपछि कच्ची सडकको घुम्तीमा तिरतिर धारोको चौतारीमा एउटी विवाहित तन्नेरी अम्बा बेच्न बसेकी भेट्यौं । उनको सात वर्षको छोरोसँगै रहेछ । बच्चो अति चञ्चल भएकाले बरौदी खोलामा खस्ला भन्ने ठूूलो चिन्ता उनलाई रहेछ । मैले उनीसँग एक किलो अम्बा किनेर झोलामा बोँके । मुलको चिसो पानी पिएर त्यहाँबाट फेरि उकालो चढ्यौं । मध्यान्ह भैसकेको थियो । भिरालो चउरमा राँगाभैसी चराईरहेकी एउटी आईमाई भेट्यौं । उनी बोलीनन् ।
बाटोमा पाडापाडी चरेर हाम्रो बाटो छेके । हामीले डराउँदै बाटो काटेर उकालो चढ्यौं । बिरेठाटीबाट करिब १२ किलोमिटर कच्ची सडक हिँडेपछि हामी हिलेमा पुग्यौं । वारी कास्की पारी पर्वतबीचको खोचमा बरौंदी खोला । कास्कीबाट हात लम्काए छुन सकिएला झैं पारी पर्वतका स–साना झुपडीले भरिएको पातलो गाउँ । पारी गाउँका मानीसहरू आफ्नो घरमा पसेको निस्किएको प्रष्ट देखिने सुन्दर हिलेबाट हाम्रा पाइला अघि बढेनन् । भिरालो र हरियो खेतको बीचमा त्यो सफा घरको आँगनमा हामी उभियौं । अनायासै पिँढिमा बसिरहेका तीन वटी तामाङ्नीहरूले हामीलाई खाना खान आग्रह गरे । घरको बार्दली हुँदै हामी पश्चिमतिर छिरेर फराकिलो काठको कौशीमा फुलबुट्टे ठूूलो छातामुनि बस्यौं । त्यो थकानबीच विश्रामको छोटो अवधिमा आँखा चुम्ने त्यो सुन्दर प्रकृति र प्राचिन मानव सभ्यताको चित्रकारी हातेमालो देखेर हामी छक्क पर्यौं । मैले सम्झे अभागी ईश्वर । बाटोमा रोइबस्ने ईश्वर । जमेको पानी र झरेको फूलले दुर्गन्धित बनेको अभागी ईश्वर सम्झेर उसलाई प्रश्न गरेँ, ईश्वरभन्दा मनुष्य जीवन कति उच्च छ । पवित्र र शुन्यमय स्वर्गलोकभन्दा मनुष्यजीवनले धारणा गरेको प्रकृति कति विचित्रता र विशालता छ ।
हिलेको उत्तरतर्फ पर्वतको डाँडाबाट दुधका छहरा झरेझैं नदीनाला झरेका, वारीपारी धान झुलेका । वारी बस्तीमा मानव सभ्यताको प्राचीन रूप, भिरालो पहाडमा पातलो बस्ती । बाटो भुलेर हराएझै हामी एकछिन टोलायौं । कान्छी तामाङ्नीले छिनभरमा खाना लिएर आइन् । हामीले मिठोमान्दै तातो दालभात खायौं । फेरि उकालो चढ्नु छ । त्यहाँबाट हिँड्ने तयारी गर्र्यौं । तीनै जना तामाङ्नीले हामीलाई फेरी पनि आउनुहोला भनेका थिए । हामीले त्यहाँ फोटो खिच्यौं र हुन्छ भन्दै अघि बढ्यौं ।
केही समय खेतैखेत सिधा अघि बढेपछि तिखेढुंगा पुग्यौं । करिब १५–२० वर्ष अघि अन्नपूर्ण सर्किटको यात्रा गर्दा पहिलोपटक बसेको त्यो गेष्टहाउस अझै पनि उस्तै देखेँ । पदयात्राको पुरानो स्मृतिले हृदय फुलेर आयो । एकछिन उभियौं । गेष्टहाउस भरिभराउ थियो । हामी त्यहाँबाट पनि अघि बढ्यौं । तिखेढुंगाको पुल तरेपछि उल्लेरीसम्म करिब तीन घण्टा उकालो सुरु हुन्छ । पर्यटक, पथप्रदर्शक र भरियाहरूको बाक्लो लहरसँगै हामी पनि पहाडमा नाक ठोक्दै उकालो चढ्यौं । पर्खालबिनाको चीनको ग्रेटवालजस्तो ढुंगामा कलात्मक खुड्कीलाहरूमा धुलो र मैलो कतै थिएन । छेउछेउमा भरीयालाई भारी बिसाउन बनाईएका चौतारीहरू झनै सफा र आकर्षक थिए । जति उकालो चढ्यो उति थकान महशुष हुन्थ्यो । तर, चाँदीका खुड्कीलाहरूमा टेकेर उकालो चढेको महशुष हमेशा हुन्थ्यो ।
एक घण्टा उकालो चढेपछि सिमसिम पानी परिहाल्यो । हामी छेवेको बिसौनीमा बस्यौं । त्यहाँ एउटी अर्धवैशे आईमाई पानी, फ्रुटी, बिस्कुट, चाउचाउ बेच्न बसेकी रहेछिन् । उनले हामीसँग गुनासो पोख्दै भनिन्, “पहिलेजस्तो अहिले व्यापार छैन । सडकबाट खुलेसँगै पदयात्रा संस्कृति संकटमा परेको छ । दिनभरी बाटो ढुक्यो । व्यापार छैन । साँझ परेपछि खाली हात घर फर्किनुपर्छ ।” हामीले उनको कुरामा होमा हो मिलायौं । सिमसिम पानी रोकियो । फेरि हामी उकालो चढ्यौं । बाटोमा पानीको मुहान कतै भेटिएन । बेलुका ६ बजेतिर हामी उल्लेरी पुग्यौँ र त्यो रात होटल अन्नपूर्णमा बस्यौँ ।
–भरत गौतम
हाम्रो लक्ष्य हाम्रा सपना
हाम्रो उद्देश्य हाम्रा प्राप्ति
धेरै–धेरै टाढा रहेको छ,
जसलाई भेट्न दौडिँदै,
कहिले थाकेर घसिँ्रदै,
कहिले लौरो टेक्दै पनि
अथक योद्दा समान हामी
निरन्तर क्रान्तिको बाटो
निरन्तर समृद्धिको बाटो ।।
समाजवादी चेत सहित
क्षितिजको उज्यालोलाई
हाम्रो समाज अनि देशमा
झलमल्ल पार्ने चाहाना छ
अझै खास जरुरी रहेको छ
तिम्रो विवेकसम्मत साथको
प्रगतिशील गति र सोचको
विश्वास अनि शुद्ध प्रेमको ।।
अतः एक निडर एक निर्दाेष
तिमी जस्तै परिभाषित मानस
खासमा चाहिँ पृथ्वीतलकै लागि
एक नमुनारूपी देश बनाउन
अन्ततः सिमाना रहितको,
देशहरूलाई एकै देश बनाउन
आफ्नै देशबाट त्यसको लागि
सुरुवात गर्न नटुट्ने खालको
पूरा गराउन नछुट्ने खालको ।।
सुरुवात भइसकेको हाम्रा यात्रा
हाम्रो त्याग, यात्रा अथक रहोस्
निरन्तरता र अजर–अमर रहोस्
जसले दुनियाँ मुक्त बनिदिओस्
अतः आदिम कालिन जस्तै होस्
हामी होस्, हाम्रो होस्, सबैको होस् ।।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ ।
नेपालको सबैभन्दा जेठो पत्रकारिता 'साहित्यिक पत्रकारिता'ले भाषा र साहित्यको क्षेत्रमा पुर्याएको दीर्घ योगदानको सम्मान गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले पहिलोपटक 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार ' र 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार'को स्थापना गरी उनीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बाेधन गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति राईले साहित्यिक पत्रकारिता सम्पूर्ण भाषासेवी र स्रष्टाहरूको बौद्धिक उत्पादनशाला रहेको बताए । यसले प्राज्ञिक र सांस्कृतिक सत्ताको क्षेत्रमा सर्वोपरि भूमिका वहन गर्नसक्नुपर्ने उनले बताए ।
बैठकले 'प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार' वरिष्ठ साहित्यिक पत्रकार घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको छ । सात दशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका घिमिरेले २०१८ साल जेठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए । अहिलेसम्म पनि निरन्तर रचना प्रकाशित भइरहेको छ ।
यसैगरी प्रज्ञा प्रतिष्ठानले 'प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार' वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । पाँचदशकदेखि साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपालभाषामा २००८ साल वैशाखदेखि प्रकाशित हुँदै आएको 'थौंकन्हे' साहित्यिक मासिकमा २०४५ सालमा आवद्ध रहेकी थिइन् । उनी यसपछि 'थौंकन्हे'को सम्पादक तथा प्रकाशक रहँदै आएकी छिन् । यी दुवै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ।
उक्त पुरस्कार २०८० साल पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए ।
-उत्तम कार्की
इन्जिनियर गणेशराज वस्तीको नयाँ कृति ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ सार्वजनिक भएको छ । ‘गोरखा भूकम्प’ भनेरसमेत चिनिने वि.सं. २०७२ वैशाख १२ मा गएको मध्य नेपालको विनाशकारी भूकम्प जाँदादेखि पुनर्निर्माणसम्मका सम्पूर्ण दृश्यलाई सारमा खिच्ने हुटहुटीबाट अभिप्रेरित भई लेखकले यो पुस्तक लेखेका हुन् । २५० पृष्ठको पुस्तक ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ अध्ययन गरिसक्दा सारमा यस्तै लाग्छ ।
प्राविधिक (इन्जिनियरिङ) सीप लगाएर भौतिक संरचनाको निर्माणमा विषयविज्ञता हाँसिल गरेका र पेशागतरूपले नेपाल सरकारको ‘प्रदेश सचिव’ (उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश) ओहदामा पसिना बगाइरहेका ई. गणेशराज वस्ती साहित्य सर्जकको रूपमा पनि उत्तिकै परिचित व्यक्तित्व हुन् । खासगरी कविता, गीत र यात्रा–साहित्यमा उनको लगाव देखिन्छ, तथापि साहित्येतर कृति पनि ई. वस्तीका बग्रेल्ती नै प्रकाशित छन् ।
पछिल्लो चरणमा गीतकारको रूपमा समेत सशक्त ढङ्गले उदाएका उनका फुटकर साहित्य–रचनाहरू विभिन्न पत्रपत्रिकामा सयौँको सङ्ख्यामा प्रकाशित भएका छन् भने हालसम्म प्रकाशित एक दर्जन पुस्तक–कृतिमध्ये ई. वस्तीको यो बाह्रौँ कृति हो, जसमा पुस्तकको नामलाई सार्थक तुल्याउँदै बहत्तर सालको विनाशकारी भूकम्पको परिवेशका चित्रहरू शब्दमा उतारिएको छ । ‘कम्प, भूकम्प र पराकम्प’बाट शुरु भइ ‘अगाडिका दिन’ सम्मका ३१ वटा अलग–अलग उपशीर्षकमा समेटिएका गोरखा भूकम्पसम्बन्धित विषय–बस्तुको चित्रणका आधारमा भन्नुपर्दा पक्कै पनि यस पुस्तकका पाठकहरूमा इमानदार भएर देश निर्माणमा आतुरता देखाउने, त्यस्ता काममा प्रेरित हुने, जोशजाँगर निकाल्ने ओजगुण जाग्ने विश्वास गर्न सकिन्छ ।
भूकम्पपछिको पुनर्निर्माणमा सम्वद्ध विभिन्न निकायमा रही पुनर्निर्माण कार्यमा सरिक रहने अवसर पाएका ई. वस्तीले प्राविधिक विषयबस्तुलाई पनि अत्यन्त सरल–साहित्यको रङ्ग दिएर रसिलो ढङ्गमा भूकम्प र त्यसपछिका यावत परिवेशलाई पस्किदिएका छन् । एक कर्तव्यनिष्ठ सरकारी कर्मचारीको रूपमा विभिन्न कालखण्ड या सन्दर्भ विशेषमा स्वयम्ले भोगेका, देखे–बुझेका र अनुभूत गरेका घटना–सन्दर्भहरूलाई पनि साहित्यको लेप लगाएर लेखकले प्रस्तुत गरिदिएका छन् । लेखककै शब्दमा भन्नुपर्दा, लेख्दा न कुस्ती खेल्न खोजिएको छ न त स्तुति गान नै ! सिधा हेर्दा जे देखिएको छ त्यही लेखिएको छ । यथार्थपरक भएर विसङ्गति र बेथितिलाई चिन्ने, टिप्ने र चिरफार गर्ने जमर्को गरिएको छ । सुनौलो भविष्यको पदमार्ग कोर्न लालायित मनोभावको प्रकटीकरण गर्ने प्रयास पनि यस पुस्तकभित्र देख्न सकिन्छ ।
गोरखा भूकम्पबाट भएको विनाश र तत्पश्चात् सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका उद्धार तथा राहत र पुनः निर्माणका प्रयासहरूलाई समेट्दै केही पुस्तकहरू प्रकाशन नभएका होइनन् । तर, गणेशराज वस्तीको यो पुस्तक अलग उचाइ र महत्वको छ । यस पुस्तकले भावी पुस्तालाई बहत्तर सालको विनाशकारी भूकम्प र त्यसपछिको पुनर्निर्माणका गतिविधि र उपलब्धि आदिका बारेमा निकै हदसम्म सत्यतथ्य जानकारी त गराउने नै छ, साथसाथै विद्यालय÷विश्वविद्यालयका विद्यार्थी, शिक्षार्थी, शोधार्थी र अन्य सरोकारवाला सबैका लागि समेत आ–आफ्ना अध्ययन, अनुसन्धान, अन्वेषण आदिका क्रममा पुस्तकले महत्वपूर्ण सहयोगीको भूमिका निर्वाह गर्नेमा शंका गरिरहनै पर्दैन ।
सरल र सादगी स्वभावका वस्ती अनेक अवसरहरूलाई तिलाञ्जली दिँदै स्वदेशकै लागि केही गरौँ भनी मरिमेट्ने देशप्रेमी राष्ट्रसेवक पनि हुन् भनी पाठक वर्गलाई जानकारी गराउनु यहाँनेर सान्दर्भिक नै हुनेछ । पेशागत कर्मका साथै वैयक्तिक विभिन्न अवसरको सदुपयोग गर्दै मुलुकका सतहत्तर वटै जिल्ला र अमेरिका, जापान, बेलायत, चीन, फ्रान्सलगायत दर्जन सङ्ख्यामा विदेशको समेत भ्रमण गरेर विभिन्न अनुभव, अनुभूति र ज्ञान बटुलेका लेखक÷साहित्यकर्मी गणेशराज वस्ती एक अब्बल प्राज्ञिक व्यक्तित्व पनि हुन् । एक विज्ञ प्राविधिक भएर पनि संवेदनशील साहित्य–स्रष्टाको पहिचान स्थापित गरेका ई. वस्तीबाट भविष्यमा अझै महत्वपूर्ण र थप गहकिला कृति सिर्जित हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
–सुमन तिमिल्सेना
पुसको यो बिहान साह्रै जाडो छ । तुवाँलो उठेर वातावरण धुमिल भएको छ । सडकमा कि त हामी जस्ता साग, गोलभेडा, लसुन, प्याज आलु बेच्नेहरू छन्, कि त क्याम्पस जान हिँडेका विद्यार्थीहरू छन् । यात्रु कुरिरहेका गाडी त्यस सम्बद्ध मजदुरहरू पनि छन् ।
म कराइरहेछु, “पचासमा तीन मुठ्ठा साग ! ककनीको साग हजुर लैजानुस हजुर ! सस्तो हजुर !”
नेपालटार पुलनेर एकजना अधबैंसे महिला देख्छु । उनको पहिरनले झल्काउछ उनी शहरिया हुन् । यस्तो लाग्थ्यो उनको गाउँ छोडेको दर्जनौं वर्षहरू बितिसके । अधबैंसे महिला मेरा नजिक आएपछि सोध्छिन्, “तपाईंको घर कता हो ? चिने जस्तो लाग्यो नि हौं भाई ।”
“नुवाकोट हजुर”, म जवाफ दिन्छु ।
“भाइको नाम रमेश हो ?” अधबैंसे महिलाले मलाई चिनेकोमा चक्कित पर्छु ।
सोध्छिन्, “तुफानलाई चिन्नु हुन्छ ?”
“अहो ! कमरेड तुफानलाई नचिन्ने को होलान् र हाम्रो भूगोलमा ?” म एकै सासमा भन्छु । फेरि कराउँछु, “सयमा तीन मुठ्ठा !”
“म तुफानको श्रीमती”, उनी भन्न थाल्छिन्, “तपाईंले तरकारी बेच्नुहुन्छ भनेर तुफानलाई थाहा छ ? श्रममा जोडिनु राम्रो हो भनेर उनी मलाई भनिरहन्छन् । म पनि श्रम जोडिएको छु रमेश । बुढाले अति गरेपछि एउटा सानो बोर्डिङतिर जोडिएको छु ।”
“अनि मेरोबारे के भन्नुहुन्छ तुफान कमरेडले ?”, मलाई जिज्ञासा लाग्छ ।
“जनयुद्धताका तपाईंको घरमा सेल्टर बसेको कुरा सुनाउनु हुन्छ । डाँडागाउँ भिडन्तताका तपाईंकै परिवारको कारण बाँचेको कुरा पनि सुनाउनु हुन्छ । तपाईं पनि विद्यार्थीमा राम्रै मान्छे हुनुहुन्थ्यो रे ! अस्ति संसदमा उहाँ युद्धबाट पीडित भएकोहरूको पक्षमा दुई मिनेट बोल्नु भयो । सुन्नु भयो नि ?”
महिलाले लामो बेलिबिस्तार लगाएपछि म झस्किन्छु । जनयुद्धलाई विर्सिसकेकाहरूले युद्धको बारेमा संसदमा के बोले होला भनेर मनमनै सोच्छु ।
कराउँछु, “पचासमा तीन मुट्ठा हजुर !”
“भाइ व्यस्त जस्तो लाग्यो, मलाई छ मुठ्ठा राख्दिनु”, उनी मेरो उसैगरी बोल्छिन्, “नगरपालिका उप मेयर हाम्रै पार्टीका हुन । यसरी सडक अबरुद्ध नगर्नुस् । बरु सटर लिएर काम गर्नु । कानुन कडा छ ।”
“म भन्छु हुन्छ हजुर सकेसम्म सटरमा नै तरकारी बेच्ने सोचेको छु”, मलाई उनको आदर्श सुन्न फुर्सद थिएन । मलाई झ्याउ लागिरहेको थियोे ।
उनी साग लिएर बिदा हुन्छिन् । म तुफान, हुरी र आगो बलेको त्यो समयमा पुग्छु । ममा एकप्रकार क्रान्तिकारी भाव उपन्न हुन्छ ।
–––
जंगलको छेउको एकान्तमा थियोे हाम्रो घर । खुशीराम पाख्रीनको गीतमा आउने ‘कालो बनको बिचैमा भरियाको गाउँ’ भन्न सुहाउने एउटा सानो बस्ती थियोे हाम्रो । हाम्रो देशको शासन व्यवस्थाले पछाडि पारेको बस्ती थियोे । क्रान्तिकारीहरूको आधार इलाका थियोे हाम्रो गाउँ । बुवा पन्चायतकालदेखि नै मशालको कार्यकर्ता हुनुहुन्थ्यो । मोहन वैद्य ‘किरण’ उल्का राम्रा नेता हुन् भनेर मैले बाकै मुखबाट सुनेको हुँ । बा जनयुद्धमा सहभागी त हुनु भएन, चुनावहरूमा भोट पनि हाल्नु भएन, स्थानीय राजनीतिक दलको आँखामा बा भूूमिगत राजनीति दलकै कार्यकर्ता दरिनु भयो । बासँग संसदीय राजनीति गरिरहेका दलका नेताकार्यकर्ता रिसाए । पटक–पटक स्थानीय प्रशासनले उनलाई तारिखमा मात्र बोलाएनन्, यातनासमेत दिइरहे । सबैलाई थाहा थियोे, हाम्रा बा ग्रामीण गाउँका एक किसान हुन् । यति चाहिँ हो, अरु किसानमा भन्दा उहाँमा राजनीतिक चेतना अब्बल थियो । एउटा किसानमा राजनीतिक चेतना हुनु, अपराध पनि थिएन । नेपाल अधिराज्यको संविधान, २०४७ ले व्यक्तिलाई पूर्ण राजनीतिक अधिकार दिएको कुरा पनि सत्य थियोे ।
तुफान बाका कार्यकर्ता थिए । बा मसालको गाविस इन्चार्ज हुँदा तुफान पार्टीको समर्थक थिए । बा भन्थे तुफान इमानदार मान्छे हुन् । वैचारिक, सांस्कृतिक र राजनीतिरूपमा तुफानलाई दाग लगाउने ठाउँ नै छैन ।
तुफानको सेल्टर थियोे हाम्रो घर ।
मंसिरको कुनै दिन म विद्यालयबाट फर्किदै थिए । डाँडागाउँको प्रहरी चौकीमा बम पड्केको भयानक आवाज आयो । डरको कारण मेरो मुटु जोडले धडकिन थाल्यो । वातावरण कुहिरोले ढाकिएको थियोे । अँगेरीको बोटमा बसेका भगेराहरूलाई जाडोले सताउन थालेको थियो । सल्लाका रुखमा बसेका मलेवाहरू झोँक्राएका थिए । शीतले वातावरणलाई कक्र्याएको थियोे । कागहरू जोड जोडले कराएरहेका थिए ।
चौकीभन्दा एक किलोमीटर पर रहेको ममा छट्पटी बढ्न थालेको थियो ।
मैले बालाइ सम्झे । आमालाई सम्झे । तुफानलाई सम्झे । मामाघरमा रहेको बैनीलाई सम्झे ।
घरमा आउँदा बा थिएनन् । आमाको अनुहार खडेरीले सुकाएको डाँडा जस्तै उदास थियोे । मलाई हेर्दै आमाले भन्नुभयो, “कान्छा तेरा बा केही महिना काठमाडौं बस्ने रे, यता बस्न डर भयो । बसन्तलाई पनि मार्यो रे ! अनि तुफान पनि घाइते छन् रे ! आजको देखेको सपना पूूरा भो कान्छा । मेरो सपना सुल्टा हुन्छन् कान्छा”, आमाले बोल्दा उनका ओठमा थरथराहट थियोे ।
झम्के साँझमा आमाले चामलको पिठोको खोले पकाउनु भयो । गहुँको पिठोको खुल्ले रोटी पनि पकाउनु भयो । मतिर हेर्दै भन्नुभयो, “कान्छा जाउ कालो ढुंगाको ओढारमा । बाहरू त्यतै छन् ।”
साँझ ढलेर रातको उन्माद चढ्दै थियोे । हामी जंगलको बाटो हिँडदै थियौं । अन्धकार रातमा हिँड्दा पनि खासै असजिलो लागिरहेको थिएन । किनकि आमालाई जंगलको गोहो थाहा थियोे । हामीले बत्ति बोकेका थिएनौं । बत्ती बोक्नु यो संकटकालको समयमा काल निम्ताउनु हो भनेर मेरो अनपढ आमालाई थाहा थियो ।
एउटा ओढारमा कमरेड तुफान घाउ दुखेर कराइरहेका थिए । तुफानको चित्कारले वातावरण नै दारुण भएको अनुभुति हुन्थ्यो । उनको घाउबाट बगेको रगत देख्दा मेरो मुटु काम्यो ।
आमाले तत्काल ‘अपुतो र तीतेपाती’ खोज्नु भयो । मेरो अनपढ आमालाई थाहा थियोे, अपुतो यस्तो औषधि हो, जसले घाउमा रगत बग्न दिँदैन । अपुतो कुटेर लगाएपछि अलि सन्चो महशुस गरे तुफानले । बालाई समेत भनेर ल्याएको खोले एकै गाँसमा बुत्याए पनि । ७२ घण्टापछि पाएको थोरै अन्नको तरानले पनि उनी झुपुक्क निदाए । ओढारमा जाडोको तिब्रता कायम थियोे । रात ढल्कँदै गर्दा जाडो झन् बढेको थियो ।
संकटकालको यस्तो दारुण क्षणमा तुफानलाई आफ्नो घाउ पाक्छ भन्ने डर थियो । त्यो रात चिसो झोक्काहरूलाई सहँदै हामी ओढारमै निदायौँ । त्यही रात तुफानलाई एक घण्टा टाढाको ओढारमा लुकाउनु भयो बाले । त्यसपछि बा पनि गायव हुनु कालो बनको बिचैमा रहेको भरियाको गाउँबाट ।
भोलिपल्ट बिहानै प्रशासनले हाम्रो घरमा छापा हान्यो । आमाका कोखामा केही लात हानेपछि प्रशासनका हाकिमहरूले आफ्नु पुरुषार्थ उचाईमा पुगेको ठाने । मलाई चाहिँ एउटा अनपढ र उपेक्षित महिलामाथि हानिएको लातहरू प्रति घृणाभाव पैदा भयो । आज पनि मेरो त्यही मान्यता छ, अबलाहरूमाथि हुने जुनसुकै प्रहार पनि घृणित हो हिंसाको पराकाष्ठा हो ।
मलाई दशैंमा भेडालाई घिच्याए झैं घिच्चाइयो । प्रशासनले मलाई क्रान्तिकारीका भैराटे भन्दै चौकी पुर्याए । मेरो कोखामा लात हानियो, छातीमा लात हानियो, दाँत झर्ने गरी हानियो, आँखै फुट्ने गरी हानियो, सोधियो, “जिल्लाका वरिष्ठ नेता तुफान फटाहा कहाँ छ भन ?” जति लात खाएपनि भने मलाई थाहा छैन भनिरहे । वास्तवमा मलाई तुफान कहाँ छन् भनेर थाहा थिएन । यातनासहित मलाई हिरासतमा जाकियो, निरन्तर यातना दिने क्रम जारी रह्यो ।
दिउँसो अनौठो घटना घट्यो । मेरो विद्यालयका सारा विद्यार्थी र शिक्षकहरूले चौकी घेरे । स्थानीय मानव अधिकारवादीहरूले चासो दिए । नारा लाग्यो, “निर्दोष विद्यार्थीलाई रिहा गर !” मानिसहरूको घुइँचो र विरोधको वातावरणले मलाई हिरासतबाट रिहा गरियो । म यातनाले शिथिल भएको थिएँ । मनमा डरको भूूकम्प गएको थियोे ।
भोलिपल्ट मलाई फेरि क्रान्तिकारी साथीहरूले ओढारमा बोलाए । एकजना कमान्डरले मलाई पटक–पटक गालामा थपड लगाए, अरु केहीले लात पनि बर्साए । प्रतिक्रियावादी सत्ताका भरौटेहरूसँग मिले पार्टी कडारूपमा प्रस्तुत हुने भनेर बेलुकीपख छोडियो । भर्खरै पार्टीमा जोडिएका ती कमरेडहरूलाई यस्तै गतिविधि गर्दा आफ्नो क्रान्तिकारी व्यक्तित्व उचाइमा पुगेको महशुस हुन्थ्यो सायद । उनीहरू मलाई सवक सिकाएकोमा प्रफुल्ल देखिए ।
आमाले कुखुरा पालेर मलाई र सानी बैनीलाई हुर्काउनु भयो । बैनी त धेरै जस्तो मामाघर नै बसी । बुबा हिमाञ्चलतिर कृषि फर्ममा काम गर्नुहुन्छ भनेर चिठीमार्फत थाहा भयो । संकटकालको समयमा आमाले खेतपातिभन्दा धेरै तारिख धाएर बिताउनु भयो । समयक्रममा प्रहरी नजर हाम्रो घरमा कम पर्न थाल्यो । आमाले तारिख धाउन नपर्ने वातावरण पनि बन्यो ।
तुफानहरूको टोली पÞmेरि पनि हाम्रो घरमा आउन थाले । अन्नको अभाव उस्तै थियोे । कहिलेकाहीँ उनीहरू चामल दाल लग्थे । कटेरामा पकाएर खान्थे र फर्किन्थे । मलाई कमरेड तुफानले चिनियाँ उपन्यास ‘चम्किलो रातो तारा’ उपहार दिएका थिए । विद्यार्थी संगठनमा जोडिदिएका थिए । ममाथि भएको आक्रमणप्रति उनले दुःख व्यक्त गरेका थिए । तुफान मलाई अरु नेताभन्दा राजनीतिक, व्यवहारिक र वैचारिक लाग्थ्यो ।
आमा बिरामी हुनुहुन्थ्यो । स्थानीय प्रशासन दिएको यातनाले ढाडको हड्डी भाचिएकोले उनलाई झरी बादलमा काम गर्न असजिलो हुन्थ्यो । राती आमाले ऐया ऐया भन्दा मलाई असह्य पीडा हुन्थ्यो । मलाई आमाको व्यक्तित्व, क्षितिज जस्तै फराकिलो लाग्थ्यो । युद्धग्रस्त क्षेत्रमा आमाले गरिरहेको युद्ध मलाई भव्य लाग्थ्यो । युद्ध कहिलेकाहीँ हतियारबिहीन पनि हुन्छ । जस्तो आमाले यो संकटकालमा बाँचेको जिन्दगी युद्धभन्दा कम थिएन ।
जसै खारा आक्रमणपछि पार्टीको मुल नेतृत्व शान्ति सम्झौतामा आउने भयो । अहिलेको ठोस स्थितिको ठोस संश्लेषण यही हो । तुफानले यसो भनेको एक महिनापछि बृहत शान्ति सम्झौता भयो । मुलुकमा पÞmेरि चुनावको वातावरण छायो । हाम्रो क्षेत्रमा कमरेड प्रखर अत्याधिक मत ल्याएर विजय भए । तुफान त्यो चुनावी मोर्चाको प्रमुख कमान्डर थिए । बा पनि घर आएका थिए । धेरै पछि बाले चुनावमा झण्डा बोके । अन्ततः प्रखरमा उहीँ संसदीय नेताहरूमा हुने गुण विकास भयो । उनी पनि बालुवा तस्करीदेखि अनेकौं काण्डमा स्खलित भए । प्रतिक्रियावादी सत्तामा पुगेपछि प्रखर त्यस्तै हुनु स्वाभाविक हो, बा भनिरहन्थे ।
म काठमाडौं आएँ । उत्कृष्ट अंकसहित उच्च शिक्षा हासिल गरेँ । विद्यार्थी राजनीति पनि गरे । क्रान्तिकारी विद्यार्थी आन्दोलनप्रति सधैँ सम्मान र आदर रह्यो । बुर्जुवा शिक्षाको उकालो चढेपनि म जीवनको मोर्चामा हारेँ । जीवनको मोर्चा संकटग्रस्त भइरह्यो ।
एकदिन मैले निर्णय गरे, “म कतार जान्छु ।” बाले गाउँबाट गैरी ओढारको खेत बेचेर पैसा पठाए । मैले बालाई भनेको थिएँ, “तपाईंको बुढेसकालमा म साहारा जसरी पनि बन्छु बा !” पैसा भएपछि राजनीति गरौंला । हामी पनि नेता बनौला । समाजले हामीलाई असल भन्ला ।
मेनपावरले भनेजति पैसा बुझाएर म कतार पुगेँ । कतार पुगेको चौथो महिनामा नै म एउटा घरमा रंग लगाउने क्रममा लडे । झण्डै ७२ घण्टा बेहोस अवस्थामा पुगेँ । मेरो देब्रे हात छिन्यो । खुट्टाको हड्डी पनि भाँचियो । आर्थिक संकटले गर्दा उपचारमा निकै कठिनाई भयो । मलाई पर्नसम्म पिर पर्यो ।
कमरेड तुफानकै मित्र राममणी कतार दूतावासमा कार्यरत थिए । बाले पटक–पटक तुफानलाई अनुरोध गरेपछि, तुफानले एक लाख तीस हजार पैैसा लिएर, बाले बाँकी रहेको जमिन बेचेर मलाई नेपाल झिकाउनु भयो ।
त्यसपछि ममा जीवनप्रति झन् जोस जाग्यो । बिद्रुप राजनीतिभन्दा तरकारी बेच्ने पेशा महान् हो भनेर म काठमाडौंमा तरकारी बेँच्न थाले । म सुकुम्बासीबाट मुक्त हुनु थियोे । बाआमाको जीवनमा लागेको गहिरो घाउ पुर्नु थियो मलाई । जीवनको युद्धमा घाइते भएपनि शाहसको यात्रामा म कसरी घाइते हुन सक्छु र ?
क्रान्तिकारी नेताहरू फेरिएका थिए । उनीहरू कानुन, नैतिकता, इमानदारीता र शैक्षिक डिग्रीको कुरा गर्न थालेका थिए । कमरेड तुफान शहरका महँगा रेस्टुरेन्टमा भेटिन थालेका थिए । सुकिला मुकिलाहरूसँग उनको नित्य भेट हुन थालेका थियो । उनले कालो वनको बिचैमा रहेको भरियाहरूको गाउँ बिर्सिसकेका थिए । उच्च मध्यम वर्ग क्रान्तिको सहयोगी शक्ति हो भनेर उनी टेलिभिजनमा बोलिरहेका हुन्थे, पत्रपत्रिकामा लेखिरहेका हुन्थे । निम्न वर्गका मान्छेको लागि क्रान्ति चाहिने भएपनि दैनिक आवश्यकताका कारण उनीहरू त्यसैमा भुलिने हुँदा क्रान्ति मध्यम वर्गले मात्र गर्छ भनेर सार्वजनिक बोलेको सुनिन्थ्यो । स्पष्ट थियोे, तुफानको मध्यम वर्ग तुफानको लागि भोट दिनेहरू थिए । तर, उनलाई सबैभन्दा धेरै भोट हामी जस्तै मान्छेले दिएका थिए । जो मध्यम वर्ग हुन सकेका थिएनन् ।
मेरो एउटा हात छिनेको थियोे । मलाई अपाङ्ग भन्नेहरू थुप्रै थिए । मलाई अपाङ्ग भनेपनि अपाङ्ग नाउँमा सहानुभूति जनाएको मन पर्दैन थियोे । कैयौँ सपाङ्ग भनिनेहरूले भन्दा धेरै श्रम मैले नै गरिरहेको थिएँ ।
जब चिसो वातावरण आउँदथ्यो । हड्डी दुखेर खपिनसक्नु हुन्थ्यो । जुनसुकै युद्धमा घाइते भएपनि घाउहरूको काम दुख्नु हो ।
–––
म टोलाइरहेको थिए । महानगरको नगर प्रहरीले जबरजस्त मेरो सबै तरकारी ट्रकमा लोड गरे । एकजनाले प्रहरीले जोडले मेरो खुट्टामा हिर्कायो । मलाई पीडाले नराम्रोसँग घोच्यो । अहो एघार बजिसकेको रहेछ । यसरी टोलाउँदै चिया खाँदै नबसेको भए ११६० घाटा हुँदैन थियोे । मेरो जग्गा किन्ने सपनामा एउटा इट्टा थपिने थियो । थुक्क रमेशे ।
एकैछिन सांसद तुफानले संसदमा भाषण गरे, “फुटपाथ व्यवसायी उपर महानगरले चलाएको अभियान क्रान्तिकारी छ । सुन्दर शहर निर्माणमा यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ । फुथपाथमा सामान बेचेर शहरको सौदर्य बिगार्नु पनि अपराध हो ।”
हिजो गाउँको ओढारमा खोले खाएर हुर्केकाहरूले सुन्दर शहर निर्माण गर्ने भाषण गरेपछि सुकिला मुकिलाहरू मुकाममा खुशी छाएको थियोे । म चाहिँ तरकारीको गाडा फिर्ता हुन्छ भनेर महानगरको छिँडिमा कर्मचारीलाई पर्खिरहेको थिएँ । जीवनमा असफल एउटा हुनु कुरा हो । सानो असफलताबाट जीवनबाट हार मान्नु हुन्न मेरो मान्यता हो । यस्तो भावना हामी जस्ता मजदुरमा सधैँ जिवित हुन्छ ।
–बलराम तिमल्सिना
द्रौपदीहरूको लागि
केही फरक छैन
पाण्डवहरूको राज होस्
या कौरवहरूको राज होस् ।
कौरवहरूको राज भयो भने
सार्वजनिक सभामा नङ्ग्याइन्छ
र उत्सव मनाइन्छ ।
पाण्डवहरूको राज भयो भने
बिकाऊ वस्तु बनाइन्छ
जुवामा थापिन्छ
र कौरवलाई बुझाइन्छ ।
सीताहरूलाई
केही फरक छैन
रावण–राज होस्
या राम–राज होस् ।
रावण राज भयो भने
अपहरण गरिन्छ
र अस्मिता लुटिन्छ ।
राम राज भयो भने
दरबारबाटै निकालिन्छ
र जङ्गल धपाइन्छ ।
जसरी
मुसाहरूलाई
केही फरक पर्दैन
कालो बिरालाको राज
या सेतो बिरालाको राज हुनुले
दुवै बिरालाले मुसै खाने हुन् ।
त्यसै गरी
सीता र द्रौपदीहरूलाई
रावण राज या रामराज
कौरव राज या पाण्डव राज
जे भए पनि केही फरक पर्दैन ।
न युधिष्ठिर सत्यवादी थिए
न राम मर्यादा पुरुषोत्तम थिए
थिए त
दुवै जुवाडे र स्त्री–पीडक !
द्रौपदी र सीताहरू हो !
भो छोड
राम र रावण
अनि कौरव र पाण्डवका कुरा
यी दुवै थरि
तिम्रो पछ्यौरी तान्नेहरू हुन्
कोखमा छुरा हान्नेहरू हुन् !
–प्रहलाद दवाडी
एकछत्र जंगलराज चलिरहेको थियो । कोही कसैले बिरोध, विद्रोहको आवाज न निकालेकोले सबै जंगली जनावरहरू एक समान भएको भान हुन्थ्यो । जंगल समाज सुरक्षित देखिन्थ्यो ।
जंगल महलमा भर्खरै बुढो सिहले सिंहासन खाली गरेर नवजवान राजकुमारलाई शासनको बागडोर सुम्पिएका थिए । नवनियुक्त राजा असल राजकुमार भए पनि कम अनुभवी भएको कारण शासन प्रणाली सुदृढ बनाउन ब्वाँसो, गिद्ध, गोही, इत्यादिलाई सल्लाहकार, सचिव, प्रवक्ता इत्यादि राखेका थिए । बुढो राजाको पालामा कहिँ कतै अन्याय अत्याचार भएको छ, कोही दिन दुःखी छन् भने जंगल व्यवस्थाको पुनर्संरचना गर्नुपर्छ र सबैलाई न्याय दिनुपर्छ भन्ने आदेश दिए । अबला पशु प्राणी आदेश पारित भएकोमा अब हाम्रो पनि दिन आएछ भनि खुशी चित्त गरेर बस्छन् । भाट भाराद्वारहरूले सबै व्यवस्थापन गरेको छौं भनेर राजालाई शुभ खबर दिन्थे ।
दुम्सी दुई वर्षकी नहुँदै आमा परलोक भइन । छोरीले दुःख पाउने देखेर दुम्सीको बाऊले कान्छी आमा भित्र्याए । दुम्सी पनि नयाँ आमा पाउदा खुशी भई । आफ्नै आमा सम्झेर बेलुकासँगै सुत्न गई तर, कान्छी आमाले उसलाई एक्लै पल्लो कोठामा सुताइन् ।
अर्को साल भाई जन्मियो । खेल्ने साथी आयो भनेर दुम्सी कम्ती खुशी भइन । भाईले उबारेको लिटो सिटो उसले पाउँथी । थाङ्ना धुने, जुठो धन्दा भाँडा माझ्ने, इत्यादी लाउँथिइन् कान्छी आमाले । चुलो पोत्ने क्रममा चम्को लडाईस, आट भत्काईस भनेर सोतेले ढाडमा बसाल्थिन् आमाले, उ केही नबोली काम गरेर सक्थी । जोईटिङ्ग्रे बाउ कान्छी आमाको गुलाम भएकाले ठूला–ठूला आदर्शका गफ गथ्र्याे तर, छोरीको दुर्दशा मूकदर्शक बनेर हेरिबस्थ्यो अनि स्वास्नीको सौतेली व्यवहारको बिरोध गर्ने हिम्मत गर्दैन्थ्यो । बरु उल्टै छोरीलाई हकाथ्र्याे ।
भाई दुई वर्ष पुग्दा पनि दुम्सी स्कूल जान पाइन । आमाले घरमै काम लगाएर, भाइको सुसारे राक्थिन । दुम्सीलाई त के थाहा र स्कूल भन्ने कुरा । स्याल मास्टरले घरमै आएर दुम्सी पाँच वर्षकी भइसकी, स्कूल पठाउनु पर्छ भन्दा सौतेनी आमाले “स्कूल न सिस्कुल, भाइलाई साथी चाहिन्छ, आघुङसँगै जान्छन् स्कूल” भनेर टक्टक्याइन ।
बाऊले सानो जागीर गर्न थाले अनि अस्तिभन्दा अलिक बढी रक्सी चाप्न थाले । कसैले सोधीहाले छोरीको मायाले गर्दा छोरीको दुःख देखेर पिरले रक्सी खाएको भन्छ तर, उता दुम्सीलाई भने केही खान दिने आँट छैन । कान्छी आमाकै झटारोमा बाँचेकी छे ।
दुम्सी चौध वर्षकी हुँदा बाबु परलोक भए । बाबु मरेपछि दुम्सीको कोही रहेन । छिमेकीले बाऊको जागिरमा लाग्न सल्लाह दिए तर, कान्छी आमा त्यो नोकरीमा लागिन् । दुम्सीले मरी तरी दुःख गरेर ब्राह कक्षा छिचोली कन्या पाठशालाबाट । भाइलाई असाध्यै माया गर्थी तर, भाइ आमाको असरले बाउटिन्थ्यो । भाइलाई केही काम पनि लगाउँदिनन् आमाले । भुसतिघ्रेले काम भनेको मीठो खाने, पढ्ने, खेल्ने, इत्यादि । उ पनि सिपाही नोकरी दार भयो । दुम्सीलाई भाइसँग कलेज जाने, उसको कलेज पढ्ने रहर घर भित्रै जुठेल्नुमा मर्यो । दुम्सी मात्र घरमा रही । घरमा उसले पूरा सास्ती भोग्नुपरेको थियो ।
एकदिन जंगल महलमा जनसभा आयोजना भयो । अबला निमुखा जनताको प्रतिनिधि चयन गर्नुपर्ने हुन्छ । उकुस मुकुस भएर दुम्सी खडा हुन्छे तर, आफ्नै परिवारले बिरोध गर्छन्, घरको व्यस्तताले र कलिलो उमेरले गर्दा उसले भ्याउदिन भनेर आमाले बिङ्गो लाउछिन् । जनसुनवाईमा दुम्सीलाई कम मत प्राप्त हुन्छ र उसको पराजय हुन्छ । बेलुका आमाले घरको इज्जत फालिस भनेर भोकै राखिन । दुम्सीलाई केही असर पर्छ । उसले सोची– म केही गरेर भाई र आमालाई देखाएर छोड्छु । उ सुत्न सकिन । के काम गरेर यश, धन कमाई गरूँ । केही उपाय सुझेन । रातभरी रुन्छे ।
भोली पल्ट दरबारतिर लाग्छे दुम्सी । जागिर माग्न भनेर । सिधै राजा भेट्न नपाएपछि मन्त्रि भेट्न गई । द्वारमा उभिएको गिद्धले निक्कै आँखा गाडेर हेर्यो अनि मुखबाट चुहिन आँटेको राल जीब्रोले मुखभित्र तान्यो । एक वैंशालु उमेरकी दुम्सी, राम्री, बान्की परेकी ।
“अहिले सर फुर्सदमा हुनुहुन्न । भित्र जरुरी सभा चल्दै छ । कसैलाई पनि नपठाउने आदेश छ । यहीँ बस ।”
दुम्सी धेरै आश लिएर त्यही बसी । गिद्धले धेरै बेर घुरेर हेर्यो र जाउ भित्र भनेर पठायो । दुम्सी खुशी भई, भित्र गई ।
मन्त्री ब्वाँसोले दुम्सीलाई भित्रि कोठातर्फ लग्यो । कन्या पाठशालामा पढेर सकेकी दुम्सीलाई केटाहरूको स्वभाव थाहा छैन । उसलाई त नोकरी चाहिएको थियो, कहिल्यै घर बाहिर पराइकोमा नगएकी । आफ्नै घरमा जस्तो उ सरासर भित्र गई । घरको व्यवहार र उसको व्यथा सबै सुनाई र उसलाई कुनै सुर्तामा भए पनि एउटा जागिर खाने इच्छा व्यक्त गरी । मन्त्रीले अबला दुम्सीसँग नोकरी विषय गोप्य कुरा गरे र आश्वासनको कुम्लो बोकाएर पठाए, भविष्यमा दिने बाचासँग ।
दुम्सीलाई बाहिर आए पछि गिद्धले सोध्यो– “काम भयो ?”
दुम्सी मुख छोपेर केही नबोली घर तिर गई । उसको दिमाग गोप्य कुराले डावा डोल ढक्क ढाकिएको थियो, उसको दिमागमा केही थिएन, भित्र के भयो, कसो भयो, काम भयो भएन, उसको दिमाग शून्यले भरिएको थियो ।
दुम्सी असमंजसमा थिई । जीवनको पहिलो घटना, नोकरी पाउने आश हो कि त्रास हो, खुशी हो कि दुःख हो, उद्घोषण हो कि भावनात्मक शोषण, उ उफ्रिउँ की नाँचु की रोऊ की के गरूँ । कसलाई सुनाऊँ, कसलाई नसुनाऊँ । फेरि कसैलाई नभन्नु भनेको छ । कुरा चुहियो भने काम हुँदैन होला । उ उकुस मुकुस भएर बसी ।
धेरै दिन भयो, दुम्सी कसैसँग बोलदिन । कामको आदेश पनि पाएकी छैन । उसको पिर व्यथा बढ्दै गयो । उसको बेदना सुनाउने र सुनि दिने कोही छैन । भित्र भित्रै डर लाग्छ । खाना खान मन पर्दैन । बान्ता आउला–आउला जस्तो हुन्छ । उ रात दिन छटपटाई रहन्छे । फेरि सोच्छे कतै भाग्य पो बदलिन्छ की ?
धेरै महिना बित्यो । उसको उपाय नभएपछि एकदिन उसले भोगेको विगत समाजमा फिजाउँछे । हो हल्ला फिजिन्छ । अनि दुम्सीमाथि प्रताड्ना ओइरिन्छ, माथि हाकिमबाट पनि धम्काउँछन् ।
घरमा पनि रात दिन हकार्छन् । ‘घरको इज्जत फालिस । हामीलाई सरकारको तारो बनाईस्, मर्न नसकेकी दुम्सी ।’ उसले अब सत्यलाई पनि झुठो मान्नु पर्ने हुँदैछ । माफी माग्दै हिँड्नु पर्ने हुन्छ । देख्ने, सुन्नेले पनि कुरा काट्छन् । हेर न हेर यो नक्कचरी । मर्नु नी बरु । अबला दुम्सी मर्न नसकेकी पड्के । अब उसको संसार सकियो । ऊ सत्य बोल्न पनि सक्दिन । अन्त त उसले पीडा सहन नसकेर आत्महत्या गर्ने निर्णय गरी । ऊ डोरी बाँधेर गलामा लगाउँछे । एक पल्ट अन्तिम लामो श्वास लिन्छे, फोक्सो फुल्ने गरी अनि दिमागमा पुग्ने गरी ।
होइन, मैले आत्महत्या गरेँ भने त न्याय कसरी हुन्छ ? अपराधीले सजायँ कसरी पाउँछ र ? अबला चेलीहरू युगौंसम्म यसरी धोखामा फस्ने, अपराधीको हातमा पर्नु हुँदैन । कहिलेसम्म रक्षकले नै अश्मिता लुट्ने । यी घर र समाजका गिद्ध, ब्वाँसोहरूलाई सबक सिकाउनु पर्छ । उदाङ्गो पार्नुपर्छ । म आज मर्न सक्दिनँ । म चुप चाप बस्छु तर, त्यसै मर्न सक्दिनँ । होइन दुम्सी तँ बाँच्नुपर्छ, दरो हुन पर्छ ।
दुम्सी पासो खोलेर निस्किन्छे ।
–राजेश भट्टराई
एउटा होटलमा बसेर कोक पिउँदै थिए, श्यामबहादुरले । भन्दै “उफ ! कति गर्मी हो, आज ।”
एकैछिनमा आए हर्कबहादुर । बसे उनकै अगाडि, भने “साहुजी फ्रिजको चिसो पानी ल्याउनु त ।”
“धेरै असिन पसिन हुनु भा’छ । कहाँ गएर आउनु भएको हो र ?” सोधे, श्यामबहादुरले ।
“मेरो सेखपछि बुढीले पेन्सन पाउने बनाएर आएको ।”
“ए, केमा जागिर गर्नुहुन्थ्यो र ?”
“सेनामा । अनि तपाईंले के काम गर्नुहुन्छ नि ?”
“अहिले त केही गर्दिनँ । तर, पहिला तपाईंलाई मैँले दुश्मन भन्थेँ । अहिले त भन्दिनँ । मिल्नुपर्छ, भन्छु ।”
“हैन, कहिले भन्नु भयो दुश्मन ? पहिलो चोटी त हुँदैछ, तपाईं र मेरो भेट ।” अचम्म मान्दै सोधे ।
“प्रत्यक्ष भेट त पहिलो चोटी भएको हो । तर, अप्रत्यक्ष भेट पहिले पनि भएको हुनसक्छ ।”
“कहिले ?”
“द्वन्द्वकालमा । म माओवादी सेनामा थिए ।”
“ए.......” लामो बोली बोले । “ल हुन्छ त, भेट भैहाल्यो, संयोगवश । बरु सुनाउनुस् । कहाँ कहाँको लडाईं लड्नु भयो ?” सोधे उनले ।
“लडियो । देउरालीको चौकी हान्दा लडियो । पिपलबोटको ब्यारेक हान्दा लडियो । पश्चिम जिल्लाको सदरमुकाम हान्दा लडियो । अरु छिटफुट लडाईं त, कति लडियो, कति ।”
“हो र ? तपाईंहरुले पश्चिम सदरमुकाम हान्दा त, म पनि त्यहीँ थिए नि । प्रहरी कार्यालय, अदालत, मालपोतलगायत अरु धेरै सरकारी कार्यालयत ध्वस्त पारिदिनु भयो ।”
“अँ सिडियोलाई पनि अपहरण गरेर लगियो । बैंक हानेर दुई करोड पनि लुटियो । ब्यारेक कब्जा गर्न चाहिँ तपाईंहरुले दिनु भएन । अनि कहाँ बसेर लड्नु भएको थियो नि तपाईं ?”
“गेट छेउको सेन्ट्रीमा ।”
“हो र ? मलाई पनि त्यतैतिरबाट लड्न खटाएका थिए कमाण्डरले । तर, तपाईं त गजबले लड्नु भयो । हामीलाई अगाडि बढ्नै दिनु भएन ।”
“त्यति नगरेको भए त, कहाँ बाचिन्थ्यो र ?”
“त्यो त हो । तर, आफूूँ बाँच्न तपाईंले मेरै आँखा अगाडि मेरा दुई जना साथी मारिदिनु भयो ।”
“को–को ?”
“एउटा मेरो मित बाको छोरा र अर्को मेरै श्रीमती ।”
“हो र ? दुःख लाग्यो ।”
“केही छैन । त्यो बेलाको परिस्थिति नै त्यस्तै थियो । तपाईंले हामी तिर लगातार फायरिङ्ग गरिरहेको अवस्थामा पनि भाई अगाडि बढ्यो । छातीमा गोली लागेर ढल्यो । श्रीमती कुप्रो परेर भएपनि अगाडि बढ्न खोजिन् । टाउकैमा गोली लाग्यो ।” दुःखी हुँदै भन्यो ।
“अनि तपाईंले के गर्नु भयो त, त्यस्तो हुँदा ?”
“आक्रोशित भएर ग्रिनेड फाले तपाईं तिर, तर भेट्दै भेटेन । अलि टाढा हुनु हुँदो रैछ । बरु तपाईंले हानेको गोली धन्यै लागेन, कानै निरबाट गयो ।”
“अनि फेरि बिहे गर्नु भएन ?”
“शान्ति प्रक्रियामा आएपछि गरेँ । एउटा छोरा र एउटी छोरी छिन् ।”
“अनि सेना समायोजन रोज्नु भएन ?”
“रोजिनँ । हिजो लडेकाहरुसँग आज एकै ठाउँ सँगै, कसरी मिलेर बस्न सक्छु र ? जस्तो लाग्यो । स्वेच्छिक अवकाश रोजेर पैंसा लिए । यहाँ केही गर्न खोज्दा वातावरण मिलेन । दुई वर्षपछि विदेश गएँ । अहिले तीन महिनाको छुट्टीमा आएको ।”
“ए अनि राजनीतिलाई के गर्नु भा’छ त ?”
“छोडिदिएँ । नेताहरूले हामीलाई मात्र लडाए । देश बनाएनन् । आफूू र आफ्ना परिवारलाई मात्र माथि पुु¥याए । अहिले त, ति नेताहरु देख्दा पनि रिस उठ्छ ।”
“ल ल अब साथी बनौँ । फेसबुक चलाउनु हुन्छ ?”
“चलाउँछु ।”
दुवैले एकअर्कालाई ‘एड’ गरे ।
“ल अबबीच बीचमा कुरा गर्दै गर्नुपर्छ है । दाजुभाई जस्तो बनेर” भन्दै हिँडे हर्कबहादुर ।
–रत्नप्रसाद अनामणी श्रेष्ठ
१.
समय गयो रे, सधैँ सोझा सिधा गरिब छल्नेहरूको
माया मार्नु रे, देश छोडेर बाध्यताले विदेश चल्नेहरूको
आफू सत्तामा रहँदा विकासको नाममा लुट्नु लुट्यो
राम राम मात्र पनि भन्न गाह्रो भो जिउँदै ढल्नेहरूको ।।
२.
दुःख नमान, बस छुट्टै पनि रेल आउँछ
तोरीलाई जति नै भुटे पनि तेल आउँछ
खलनायकहरू जति नै उफ्रिरहे पनि
अन्त्यमा नायकले नै जित्ने खेल आउँछ ।।
३.
जथाभावी लुगा नलगाउनु सानूू रितलाई बुझ्नु
कुन समाजमा बसेको हो, त्यसैको हितलाई बुझ्नु
तिम्रो हरेक स–साना कुरामा ख्याल राख्ने गर्छु
यो दुःखीको भावनासँग नखेल्नु प्रीतलाई बुझ्नु ।।
४.
बाह्र फिटको सानो गल्लीभित्र मेरो एउटा टोल छ मित्र
कस्को के धन्दा कस्को के धन्दा, आ–आफ्नो रोल छ मित्र
दिनभरी सबैसँग हाँस्छु, दुःखले आफ्नै व्यवसाय चलाउँछु
कस्को के मतलब ? टोलमै बनेको लोकल झोल छ मित्र ।।
५.
काटीकुटी पार्वती जस्तै गोरी उस्तै
मनै लोभिने हेराईको चोरी उस्तै
यो गल्लीको कुना काप्चामा पाइँदैन
आमा राम्री भन्या हेरन छोरी उस्तै ।।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको छ ।
यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार मातृभाषा साहित्य श्रृंखलाको रूपमा आयोजना हुँदै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा सम्पूर्ण जातिको भाषा र साहित्यको पहिचाहन गरी तिनकोअस्तित्व संरक्षण गर्न दत्तचित्तका साथ प्रतिष्ठान लागिपरेको बताएका थिए ।
यसैगरी कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा कोष तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले मातृभाषा साहित्य श्रृंखलाले पहिचान र चेतनालाई व्पापक बनाउन र एकआपसमा सुपरिचित हुन सहयोग पुगेको बताएका थिए ।
यसैगरी कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख एवम् कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले आफ्नो मातृभाषालाई व्यक्तिले संरक्षण गरेर मात्रै सम्भव नहुने भन्दै त्यसलाई माथि उठाउन सरकारले प्रशस्त बजेटको व्यवस्था गर्नुपर्ने बताए ।
साथै, जुन अघिल्लो पुस्तासँग भएको मातृभाषा, रैथाने ज्ञान र सीपलाई अभिलेखिकरण गर्नलाई बजेटको सीमितता भए पनि प्रज्ञा प्रतिष्ठान सक्रियतापूर्वक लागि परेको उनले बताए ।
कार्यक्रममा गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष तथा गुरुङ भाषा–साहित्यकी अन्वेषक गौरी तमूले ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा पहिचान सम्बन्धी अवधारणा, गुरुङ साहित्यको विकास र विस्तार, गुरुङ भाषाको साहित्य, श्रुती साहित्य, लिखित साहित्य, श्रव्य–दृश्य साहित्य,गुरुङ भाषाको साहित्यमा पहिचान, गुरुङ भाषाको साहित्यमा प्रतिनिधित्व र गुरुङ साहित्यको अवस्था आदि विषयवस्तुलाई समेटिएको छ ।
उक्त कार्यपत्रमाथि सहभागीकातर्फबाट सिताराम गुरुङ,रामकाजी कोने,मणिराज गुरुङ,सुशान्त गुरुङ र रुकु गुरुङले पूरक टिप्पणी गरेका थिए । यस कार्यक्रममा मगर ढुटभाषाका कवि हिरा राना मगर,तामाङ भाषाका कवि रिना बम्जन र खालिङ भाषाका कवि रेजिना खालिङले आ–आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies