–खिमराज गिरी
हिमाल, पहाड र तराईका बस्ती बस्तीहरूमा
पर्खिबसेका थियौं तिमीलाई,
कैयौं वसन्त र शिशिर ऋतुहरू
गुज्रिसक्दा पनि देख्न सकेनौँ तिमीलाई,
सामन्ती कुसंस्कार र कुरीतिको पर्खाल तोड्न,
गाह्रै भयो होला तिमीलाई,
अब त तिमी हिँड्ने बाटाका काँडाहरू सबै
पन्छिसकेका छन् भने पनि,
अनि सामन्ती र कु—संस्कारका खाडलहरू
सबै पुरिइसकेका छन् भने पनि,
त्यसैले त कयौँ वर्षसम्म संघर्ष गर्नुप¥यो,
तिमी आउने बाटाहरू बनाउनलाई,
अनि लोकतन्त्रको दरिलो हाँगाहरू समाउनलाई,
कयौँ वर्षसम्मको निरंकुश दबाउनलाई,
अब त सजिलो हुन्छ होला यी बाटाहरू पार गर्न,
भन्नेले जे कुरा भने पनि,
गर्नेले जे कुरा गरे पनि,
निर्भिक र निडर भएर आयौ तिमी,
तर, जनताको नजरमा राम्रो भए पनि,
विदेशीको नजर र इसाराले चल्न खोज्दा
कतै बिर्सेका त होइनन् तिमीलाई ?
अनि नीति र नियमभन्दा पनि नेताको हैकम चल्दा,
कतै अलमलिनु परेको त होइन तिमीलाई ?
भ्रमको भुमरीमा नाच्ने र नचाउनेले गर्दा,
कतै बाटामा काँडाले त कोरेन तिमीलाई ?
तै पनि गणतन्त्र, जनताको सामुमा निडर भएर आयौ
जनताको सुख दुःखमा साथ दिने कसम पनि खायौ,
तर, बेला बेलामा आएको आँधी हुरीले गर्दा,
पक्कै पनि तिमी बिरामी पो भयौ कि ?
चाकरी र चाप्लुसीको धमिलो सागरमा रम्न खोजिँदा,
कतै अनकन्टार जंगलतिर लुक्न पो गयौ कि ?
तर, अझै आशा छ गरिबका बस्ती बस्तीहरूमा पुग्ने छौ
अनि उजाड मरुभूमि हरियाली बनाउने छौ,
भ्रष्टाचार र दुराचारको निरुपण गर्नेछौ,
प्राकृतिक वस्तुहरूको सदुपयोग गर्नेछौ,
जनताको लागि छाना, नाना र मानाको बन्दोबस्ती गर्नेछौ !
तर, डर र त्रासको भुमरीले खण्डित पारेको यो मनलाई
अझै पनि झसङ्ग भएर सोच्न बाध्य तुल्याउँछ,
कतै बिर्सेका त छैनन् तिमीलाई ? बिर्सेका त छैनन् तिमीलाई ?