२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

‘खुसीको गाउँ’मा हराउँदा

shivam cement
२०८२ साउन २४ गते ०६:१०
‘खुसीको गाउँ’मा हराउँदा

–रश्मि असफल

‘पानी परेपछि छाप्पो भएर आउने छिचिमिरा एकैछिनमा साट्सुट्ट हराएजस्तो हराए उनीहरू यहाँबाट ।’ (पृ. २२)

सन् १९८० को दशकको अन्त्यदेखि भुटानले ‘एक देश, एक भाषा’को नीति लिएपछि आफू जन्मिएको माटो छाडी नेपाली भाषा, संस्कृति, रीति रिवाज मानेकै कारण भुटान छाडी नेपाल आएका भुटानी शरणार्थीले २ दशक नेपालमा बिताएपछि पुनर्वासका लागि तेस्रो मुलुक गए । शिविर खाली भएपछि बस्तीका मानिसले अनुभव गरेको सन्नाटा हो माथिको भनाइ ।

भुटानी शरणार्थी र नेपालीबीच भएको प्रेम सम्बन्धको विषयलाई केन्द्रविन्दु बनाएर शरणार्थी र शरणार्थी शिविर नजिकै रहेको स्थानीय बस्तीको जीवनशैलीलाई मसिनोगरी उजागर गरिएको उपन्यास हो– ‘खुसीको गाउँ ।’ यही उपन्यासको अंश हो उक्त वाक्य ।

झापामा बसेर आख्यान विधामा २०७३ सालमा नै ‘आमाको डायरी’ कथासंग्रह प्रकाशन गरेर आफूलाई सार्वजनिक गरिसेकेकी खगिन्द्रा खुसीको दोस्रो कृतिका रूपमा आएको यो उपन्यास २०८२ असारमा प्रकाशन भएको हो ।

‘के मानवीय भावना, प्रेम र विवेकभन्दा जेठो हो र यो भौगोलिक पहिचान ?’ (पृ. ९७)

यस वाक्यभित्र रहेको पीडादायी अभिव्यक्तिले पनि उपन्यासको कथालाई संकेत गरेको छ । पात्रमार्फत मानवीय संवेदना, प्रेम, हार्दिकता र समवेदनालाई बोलिएको छ उपन्यासमा ।

उपन्यासका मुख्य पात्र शरणार्थी शिविर नजिकैकी राधिका (नायिका) र अर्का मुख्य पात्र भुटानी शरणार्थी राजेन्द्रप्रसाद तिवारी (नायक)को बाल्यकालको उतरार्द्धदेखि लगभग आधा जीवनसम्मको कथा यस उपन्यासमा बगेको छ ।

कथानकलाई राधिकाले (प्रथम पुरुष) दृष्टिबिन्दुबाट प्रस्तुत गरेकी छन् । बीचबीचमा संवाद र केही घटना परिघटना पनि थपिएका छन् । सीमित पात्रहरू रहेको यस उपन्यासका सहायक पात्रहरू बस्तीबाट राधिकाको परिवार, छिमेकी ठूलीकान्छी दिदी, राउतनी भाउजु र गौण रूपमा राधिकाका श्रीमान् र उनका परिवार रहेका छन् भने शरणार्थी शिविरबाट राजेन्द्रको परिवार, धनमाया, शिविरमा गुजारा चलाउनका लागि व्यवसाय चलाएर बस्ने केही शरणथीहरूलाई कथामा चिनाउने प्रयास गरिएको छ । 

प्रस्तुतिलाई रोचक बनाउनका लागि केही घटनाहरूलाई संवादात्मक शैलीबाट प्रस्तुत गरिएको छ भने कहीँ प्रवचनात्मक शैलीबाट जोडिएको छ । कुनैकुनै संवादमा पुर्वेली मीठो लवज पनि मिसिएको छ ।

उपन्यास पढ्दा पाठकमा कतै कौतूहल हुने छ, कतै पात्रसँगै हाँस्ने छन् र कतै आँसु पनि बगाउन सक्ने छन् । जे होस्, जसले पढ्न सुरु गर्छ, त्यसले पुस्तकको अन्तिम पृष्ठसम्म पढ्ने छ । यो यस उपन्यासको शक्ति पनि यही हो । अझ शरणार्थी शिविरसँगै रहेका र शरणार्थी साथीभाइसँगै हुर्किएका अथवा त्यो परिवेश देखे/भोगेका सबैजसोले यो उपन्यास पढ्दा झलझली त्यसबेलाको समय र परिवेश अनि घटनाहरू सम्झिन सक्ने छन् । 

उपन्यासको परिवेश मुख्यतः तत्कालीन समयमा भुटानी शरणार्थी शिविर बसेको झापाको खुदुनाबारी वरिपरि रहेको छ भने नजिकैको शनिश्चरे बजार, बिर्तामोड, इलामसम्म र छिमेकी राष्ट्रको सिमाना पानीट्यांकी तथा नक्सालबारी अनि थोरै अमेरिकासम्म पुगेको छ ।

भुटानी शरणार्थीले बाँचेको जीवनको एउटा पाटोलाई यस उपन्यासमा देखाउने प्रयास गरिएको छ । प्रतिनिधि पात्रबाट प्रतिनिधि घटनाहरूलाई जोडेर शिविर र बस्तीको सम्बन्ध, सोच र व्यवहारलाई यस उपन्यासमा देखाइएको छ ।

अन्तिममा स्रष्टा आफैं सूत्रधार भएर उपन्यास बनेको कुरालाई इमान्दारीसाथ राखेको देखिन्छ । उपन्यासकी नायिकालाई साँच्चै नायिका नै बनाउनका लागि एक सफल पुष्प व्यवसायीको रूपमा समेत प्रस्तुत गरेर स्रष्टाले आफूसँग भएको पुष्प व्यवसायको ज्ञानलाई निकै चतुरतापूर्ण ढंगले पाठकलाई पनि बाँड्ने प्रयास गरेकी छन् । 

झट्ट हेर्दा, राधिका र राजेन्द्रको प्रेमका बाधक राधिकाकी आमा र ठूलीकान्छी दिदी देखिन्छन्, तर यी दुवैको भूमिकालाई उपन्यासमा बेजोडका साथ प्रस्तुत गरिएको छ । ठूलीकान्छी दिदीसँगको मित्रता सुरुदेखि अन्तिमसम्म नै रहेको छ । राधिकाकी आमाको भूमिका साह्रै बौद्धिक र चतुर छ । आमा भएर आफ्ना सन्तानलाई जुन उमेरमा जसरी अभिभावकत्व दिनुपर्छ, त्यसैगरी दिएकी छन् ।

छोरीले दाउरा बेच्न जाँदा गरेको सहयोग, राजेन्द्रले पठाएको प्रेमपत्र पढेपछि छोरीको केही पनि नभनी अर्कै केटासँग बिहे गर्ने तयारी, अर्को केटासँग बिहे निश्चित गराएपछि छोरी भाग्छे कि वा देह त्याग गर्छे कि भनेर गरेको निगरानी, छोरीको घरबार बिग्रिएपछि उसको मुहारमा खुसी देख्नका लागि उसले जुन कदम चाले पनि दिएको साथ र सहमति सबै हेर्दा आमाको भूमिका गज्जब लाग्छ ।

राजन काफ्लेको सुन्दर आवरणले सजिएको पुस्तक जम्मा १२ भागमा विभाजन गरिएको छ । यस उपन्यासको शृंखला २९७ पृष्ठसम्म रहेको छ भने उपन्यास सुरु हुनुपूर्व १० पृष्ठमा पुस्तकको नाम चिनारी, प्रकाशकीय र सर्जकको आफ्नै कुरा समावेश भएको छ ।

विश्व भुटानी साहित्यिक संगठनले प्रकाशनमा ल्याएको यस पुस्तकको वितरणको जिम्मा सम्पूर्ण किताब काठमाडौंले लिएको छ । यसको बजार मूल्य ६५० रुपैयाँ तोकिएको छ ।

आख्यानको क्षेत्रमा कथाकार भएर उदाएकी स्रष्टा खगिन्द्रा खुसी यस पटक उपन्यासकारका रूपमा आएकी छन्, उनलाई कृति सफलताको शुभकामना ।

ADV

सम्बन्धित खबर

Advertise