काठमाडौं : नेपाल राष्ट्र बैंकको खुद आय २१.९६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनको राष्ट्र बैंकको आम्दानी बढेको देखाइएको छ । आर्थिक वर्ष २०८०/८१ को खुद आय अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशतले वृद्धि भई ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार पुगेको प्रतिवदेनमा उल्लेख गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले आइतबार सिंहदरबार पुगेर अर्थमन्त्री विष्णु पौडेललाई गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन सारांश बुझ्दै अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रलाई अगाडि बढाउनका लागि राष्ट्र बैंकले उत्पादन, रोजगारी, आयात, निर्यातमा जोड दिने निति बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीसँग अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयाम छन्, तर, धेरै चूनौतीहरू पनि देखा परिरहेको अवस्था छ । अहिले हामीले उत्पादन, रोजगारी, आयात, निर्यात, राजस्व र पुँजीगत खर्चमा सोचेजस्तो नतिजा प्राप्त गर्न सकिएको छैन ।’ राष्ट्र बैंकको खुद मुनाफाबाट ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार सरकारलाई दिने निर्णयसमेत गरेको छ ।
प्रतिवेदनमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम राख्ने मौद्रिक नीतिको लक्ष्यअनुसार आर्थिक वर्ष २०८०/८१ मा औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको उल्लेख छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले आफ्नो सम्पत्ति तथा दायित्व ३०.१५ प्रतिशतले वृद्धि भई २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार रुपैयाँ कायम भएको जनाएको छ । आर्थिक वर्ष २०८०/८१मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति/दायित्व १२.९ प्रतिशतले वृद्धि भएको छ । वाणिज्य बैकहरुको कुल सम्पत्ति ७२ खर्ब २७ अर्ब ६० करोड, विकास बैंकहरूको ७.९ प्रतिशतले वृद्धि भई ७ खर्ब १७ अर्ब रुपयाँ र वित्त कम्पनीहरूको ११.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति/दायित्व १.३ प्रतिशतले घटेर ५ खर्ब ५३ अर्ब ७३ करोड कायम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत वर्ष ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट निष्कासन गरिएको राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तसम्म ६ खर्ब ९० अर्ब १५ करोड बराबरका नोटहरू चलनचल्तीमा रहेको प्रतिवदेनमा उल्लेख छ ।