२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

एयरपोर्टमा भिजिट भिसाको सेटिङ रोक्न श्रम मन्त्रालयमा छलफल

draupadi film
मध्यान्ह
२०८१ मंसिर ३ गते ०६:२५
एयरपोर्टमा भिजिट भिसाको सेटिङ रोक्न श्रम मन्त्रालयमा छलफल

काठमाडौं : गृह मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भिजिट भिसाको दुरुपयोग रोक्न प्रतिवेदन तयार गर्ने सहमति भएको छ । घुमफिरको संवैधानिक अधिकारमाथि हस्तक्षेप नगरी भिजिट भिसामा देखिएका खराबी अन्त्य गर्ने विषयमा दुवै मन्त्रालयले अध्ययन गर्ने बताइएको छ ।

आइतबार श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार महाशाखा प्रमुखबीच छलफल भएको हो ।

छलफलपछि भिजिट भिसाको दुरुपयोग गरी वैदेशिक रोजगारीमा जाने विद्यमान प्रवृत्ति रोक्ने विषयमा १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय भएको श्रममन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । सरकारले पटकपटक भिजिट भिसाको दुरुपयोग र चलखेल रोक्ने प्रतिबद्धता जनाएको भए पनि वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न सकेको छैन ।

वैदेशिक रोजगार व्यवसायीहरूले भिजिट भिसामा कडाइ गर्न पटकपटक माग गरेका छन् । केही दिनअघि मात्र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट सेटिङका आधारमा भिजिट भिसामा जाने क्रम रोक्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको थियो । 

सरकारले भिजिट भिसाको दुरुपयोग रोक्न विभिन्न समयमा परिपत्र जारी गरे पनि व्यवहारमा सरकारी प्रयास असफल गराइएको छ । केही महिनाअघि मात्र नक्कली कागजात बनाएर नेपाली युवायुवतीलाई पठाएको अभियोगमा प्रहरीले नेपाल वायुसेवा निगमका अधिकृतसहित काठमाडौंबाट ६ वटा ट्राभल्स एजेन्सीका संचालकलाई पक्राउ गरेपछि केही सुस्त बनेको भिजिट भिसाको ठगी धन्दा पुनः संगठित बनेको बताइएको छ ।

अध्यागमन विभाग, विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीदेखि कार्यालय प्रमुखलाई छोटो समयमा मोटो रकम हात पर्ने भएपछि सेटिङमा पठाउने प्रवृत्ति यथावत् रहेको बताइएको छ । गृह मन्त्रालय र श्रम मन्त्रालयले बोलाउने बैठकमा अध्यागमनका महानिर्देशक र कार्यालय प्रमुखहरूले भिजिट भिसाको दुरुपयोग रोक्न प्रतिबद्धता जनाए पनि व्यवहारमा भिजिट भिसामा पठाउने धन्दा यथावत् राख्ने दोहोरो व्यवहार गर्ने गरेको बताइएको छ । प्रत्येक राति अबेर हुने खाडी मुलुकका फ्लाइटका आधाभन्दा बढी यात्रु भिजिट भिसामा जाने सेटिङका यात्रु रहने गरेको अध्यागमन कार्यालयकै कर्मचारीहरू बताउँछन् ।

मानव तस्करीमा संलग्न गिरोहले नेपालबाट भिजिट भिसामा लगेर केही महिना यूएईमा राखेपछि युरोपेली मुलुकमा सहज रूपमा जान पाउने ‘ग्यारेन्टी’ नै गर्ने गरेका कारण लाखौं रुपैयाँ खर्च गरी भिजिट भिसा प्रयोग गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ठूलो संख्यामा जाने गरेका अनुभवीहरू बताउँछन् । 

नेपाल सरकारले यूएई, साउदी अरेबिया, कतार, कुवेत, ओमान र इराकलगायतका देशमा घरेलु कामदारको रूपमा जान नेपालीलाई प्रतिबन्ध लगाएको छ । तर, उक्त प्रतिबन्ध सेटिङ मिलाउन नसक्ने सोझा सिधा र निरह महिलाका लागि मात्र रहेकोे बताइन्छ ।

गृहमन्त्री लेखकले यसअघि भिजिट भिसाको दुरुपयोग रोक्न आफू हरदम तयार रहेको बताएका थिए । तर, विमानस्थलमा सेटिङको जालो यथावत् राख्दा छोटो समयमा मोटो रकम हात पर्ने भएपछि जिम्मेवारीमा खटिने कर्मचारीले मन्त्रीको जस्तोसुकै प्रतिबद्धता भए पनि आफ्नो दुनो सोझ्याउन नछाड्ने अटेरी प्रवृत्तिमा सुधार आउन नसकेको र कर्मचारीकै कारणले वैदेशिक रोजगारको जोखिम बढाएको स्रोतको भनाइ छ ।

यसैबीच श्रम मन्त्रालयले वैदेशिक रोजगार बोर्डको पुनर्संरचनाका लागि पूर्वसचिव प्रतापकुमार पाठकको नेतृत्वको कार्यदलले पनि आइतबार नै सरोकारवाला पक्षसँग छलफल गरेको बताएको छ ।

ADV

सम्बन्धित खबर

Advertise