काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले राजस्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभाग, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषयबारे वृहत अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताए । उनले भने, ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ, लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ ।’ मुलुकमा पुँजी निर्माण भएर रोजगारी सिर्जना, उत्पादन वृद्धि हुनेगरि सरल र सहज नीति बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजस्व संकलनको लक्ष्य पूरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालको भनाइ छ ।
अध्यक्ष अग्रवालले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिएर सन्दर्भ मूल्यलाई खारेज गर्नुपर्नेमा जोड दिए । नक्कली भ्याट बिलमा संलग्नलाई कारवाही गर्नुपर्ने तर, छानविनका नाममा असल व्यापारीलाई दुःख दिन नमिल्ने अध्यक्ष अग्रवालले बताए । २०५८ सालमा आएको आयकर ऐनलाई संशोधन गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । सो कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीसँग जोड्न सरकारले पनि काम गरिरहेको बताए ।
मुलुकका लगानीको वातावरण छैन भन्ने भाष्यलाई चिर्नुपर्ने महानिर्देशक आचार्यको भनाइ छ । सरकार र निजी क्षेत्रको सहकार्यमार्फत् आर्थिक उपलब्धि हासिल गर्नुपर्नेमा महानिर्देशक आचार्यले जोड दिए । नक्कली भ्याट बिल बिजकको समस्या समाधान गर्नेगरी प्रयास भइरहेको उनको भनाइ छ । कार्यक्रममा सहभागीहरूले वर्तमान कर प्रणालीबाट साना व्यापारीहरू सबैभन्दा बढी मर्कामा परेको गुनासो गरेका थिए ।