काठमाडौं : आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले चितवन कालिका नगरपालिका– ७ की २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका– २ का काठमाडौं तारकेश्वर नगरपालिका– १० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगरलाई पक्राउ गरेको छ ।
परियारले वैदेशिक रोजगारीका लागि हँगेरी पठाइदिन्छु भन्दै २ जनाबाट १८ लाख र रोका मगरले माल्टा पठाइदिन्छु भन्दै १ जनाबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । रचनालाई काठमाडौं महानगरपालिका– १२ बाट र प्रकाशलाई टोखा नगरपालिका– ९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
त्यस्तै, नक्कली फेसबुक आईडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगीमा संलग्न रहेको अभियोगमा पर्साको वीरगन्ज महानगरपालिका– ३१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका– ७ बस्ने २१ वर्षीय सुरज पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । पौडेलले फेसबुकबाट दुबईमा वैदेशिक रोजगारीका लागि आकर्षक तलबको अवसरको प्रलोभनमा पारी भिजिट भिसामा दुबईमा गई काम गर्न पाइने भनी विज्ञापन राखेर पीडितसँग २ लाख १५ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । पौडेललाई पनि प्रहरीले वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताएको छ ।