२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

जिम्मेवार हुने कि ?

ADV
२०८१ मंसिर ९ गते ०६:१०
जिम्मेवार हुने कि ?

–परशुराम भुर्तेल

नेकपा एमाले सत्ताको नेतृत्वकर्ता दल हो । सत्ताको नेतृत्वकर्ता दल भएको कारण अन्य दलभन्दा उसको जिम्मेवारी र दायित्व स्वभाविक रूपमा बढी छ । एमाले अरूलाई प्रश्न गर्ने होइन, जबाफ दिने ठाउँमा छ ।

यद्यपि, शुक्रबार काठमाडौंको दरबारमार्गमा एमालेले ‘जागरणसभा’को नाममा गरेको शक्ति प्रदर्शन जबाफ दिने होइन, प्रश्न गर्ने खालको बन्यो । यसले आमरूपमा नेतृत्वकर्ता जिम्मेवार नभएको बोध गराएको छ । साथै, जनतालाई कोसँग प्रश्न गर्ने भन्ने अवस्था पनि निम्त्याएको छ । 

एमालेले दरबारमार्गबाट अरूमाथि आक्रोश मात्र पोखेन, प्रश्न पनि उठाइरह्यो । यसलाई हामी सामान्य मान्न मिल्दैन । सत्ता नेतृत्वकर्ताले अरूमाथि प्रश्न होइन, आफूमाथि उठेका प्रश्नको जबाफ दिनुपर्छ । 

एमालेले सरकारको नेतृत्व गरेको ४ महिना बितेको छ । यसबीचमा एमालेले केके गर्‍यो ? एमालेमाथि नै किन प्रश्नहरू उठिरहे ? सुशासनको सन्दर्भमा सरकारको नेतृत्वबाट उसले चालेका कदम के हुन् ? जनताका आधारभूत आवश्यकताहरूको सम्बोधन गर्न के गर्‍यो ? यी प्रश्नको जबाफ अरूले होइन, एमालेले दिनुपर्थ्यो । 

अहिले पनि हाम्रो अर्थतन्त्र सकसमा छ । हाम्रा विकासका कामहरू सही ढंगबाट अगाडि बढेका छैनन् । केन्द्रीय बैंककै विवरणलाई हेर्दा, हाम्रो अर्थतन्त्रको ग्राफ निकै डरलाग्दो खालको छ । तर, स्वयं सत्ताको बागडोर सम्हालेको, अर्थतन्त्रको बागडोर सम्हालेको एमालेबाट जबाफ दिने होइन, प्रश्न तेस्र्याउने काम भयो । अरूमाथि आक्रोश पोख्ने काम भयो । यो सर्वथा गलत छ । एमालेले प्रश्न गर्ने होइन, जबाफ दिनुपर्छ । एमालेले यो गलत अभ्यास र संस्कृति बदल्नुपर्छ । 

एमालेलाई प्रश्न छ, अब त जिम्मेवार बन्ने कि ?

ADVADV

सम्बन्धित खबर

Advertise