२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

युएईको प्रतिष्ठित श्रम बजार अवार्डबाट तामाङ सम्मानित

ADV
पूर्ण तामाङ
२०८१ मंसिर ९ गते १०:२८
युएईको प्रतिष्ठित श्रम बजार अवार्डबाट तामाङ सम्मानित

युएई : नेपाली नागरिक राम बहादुर तामाङले युएईमा आयोजित एमिरेट्स श्रम बजार अवार्डमा उत्कृष्ट हुँदै नेपाली समुदायको गौरव बढाएका छन् । तामाङले नेपाली २८ लाख नगद, ५ ग्राम २४ क्यारेट सुन, र एक थान ल्यापटप पुरस्कारस्वरूप प्राप्त गरेका छन् ।

तामाङको मेहनत र समर्पणको पहिचान

विगत १६ वर्षदेखि युएईको फुजैरस्थित विभिन्न कम्पनीमा कार्यरत तामाङले आफ्नो यात्राको सुरुवात मेकानिकको रूपमा गरेका थिए । अहिले उनी फोरम्यान सुपरभाइजरको रूपमा जिम्मेवारी निभाउँदै आइरहेका छन् । उनको इमानदारी, लगनशीलता, र निस्वार्थ सेवाको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।

तामाङले आफ्नो अनुभव साझा गर्दै भने,“म काममा व्यस्त थिएँ, अचानक फोन आयो र थाहा पाएँ कि मैले पुरस्कार जितेको छु । सुरुमा त मलाई यो ठगी हो कि भन्ने शंका भयो । तर, युएईको आधिकारिक सरकारी कार्यालयबाट जानकारी आएपछि मात्र म ढुक्क भएँ।”

झापाको बराहामा सामान्य परिवारमा जन्मिएका तामाङले यस सम्मानलाई आफ्नो जीवनको महत्त्वपूर्ण क्षण भन्दै आगामी दिनमा अझ मेहनत गर्ने प्रेरणा प्राप्त भएको बताए ।

एमिरेट्स श्रम बजार अवार्डको महत्व

एमिरेट्स श्रम बजार अवार्ड युएईको मन्त्रिपरिषद् (Cabinet) द्वारा अनुमोदित र महामहिम शेख मन्सूर बिन जायद अल नह्यानको संरक्षकत्वमा आयोजना गरिएको थियो । यो अवार्डले व्यवसायीहरू, उत्कृष्ट कर्मचारीहरू, र श्रम बजारमा सफल अभ्यासहरूलाई उजागर गर्ने लक्ष्य राखेको छ ।

यस वर्ष ७ हजार ७०० आवेदनहरूमध्ये ८४ विजेताहरूलाई छनोट गरिएको थियो, र कुल ३७ मिलियन दिरहम पुरस्कार राशी रहेको थियो । तामाङजस्तै मेहनती र समर्पित श्रमिकहरूको पहिचान गर्दै, यो अवार्डले श्रमिकहरूको कल्याण, कार्यक्षमता, र उत्पादकता अभिवृद्धिमा ठूलो योगदान पुर्‍याएको छ।

नेपाली श्रमिकहरूको गर्व

यो अवार्डले नेपाली श्रमिकहरूको इमानदारी र मेहनतलाई विश्वभर चिनाएको छ । युएईको श्रम बजारमा काम गर्ने नेपालीहरूले आफ्नो लगनशीलता र समर्पणका माध्यमबाट यस्ता सफलताका झलक देखाउँदै समुदायको सम्मान र पहिचानलाई बलियो बनाएका छन् ।

यसले नेपाली श्रमिकहरूको योगदानलाई उजागर गर्ने मात्र होइन, उनीहरूको श्रमले विश्वभरको श्रम बजारमा सकारात्मक प्रभाव पारेको पुष्टि पनि गर्दछ।

ADVADV

सम्बन्धित खबर

Advertise