काठमाडौं : परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागको कम्प्युटर प्रणाली भाइरस संक्रमणका कारणले गत हप्तादेखि अवरुद्ध हुँ्दा राहदानी सेवा सहज हुन अझै केही समय लाग्ने भएको छ । गत हप्तादेखि प्रणालीमा समस्या देखिएको थियो ।
विभागले विभागमा अत्यावश्यक सेवा मात्र दिन सकिएको तथा जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नियोगहरूबाट सेवा सहज हुन अझै २ हप्तासम्मको समय लाग्ने बताएको छ ।
विभागले समयमा राहदानी नबनाइदिँदा अध्ययन भ्रमण, औषधि उपचारमा जानेहरूसँगै वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तनावमा देखिएका छन् । १ वर्षभन्दा कम अवधि रहेकोे राहदानीमा भिसा नलाग्ने भएका कारण राहदानी नवीकरण नहुँदा वैदेशिक रोजगारीमा रहनेहरूले भिसाको समस्या झेल्नुपर्ने त्रास देखिएको छ ।
राहदानी बनाउने मात्र नभएर राहदानी नवीकरण गर्न अनलाइन प्रणालीबाट विवरण भरेर इनरोलमेन्ट गर्नसमेत समस्या भएको कतिपयको गुनासो छ । राहदानी विभागबाट सिस्टम नचलेको सूचना जारी भएको भए पनि कतिपय जिल्ला प्रशासन कार्यालय र नियोगहरूले उक्त सूचना आफ्नो वेबसाइटमा नराख्दा सबैजसो सेवाग्राहीले सास्ती बेहोर्नुपरेको बताएका छन् ।
राहदानीका लागि व्यक्ति आफैंले अनलाइन फारम फर्न सक्ने भए पनि फोटो खिचाउन र विद्युतीय हस्ताक्षर गरेर पेस गर्न सेवाग्राही काठमाडौंमा राहदानी विभाग र जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता छ ।