२०८१ मंसिर १७ गते सोमवार / Dec 02 , 2024 , Monday
२०८१ मंसिर १७ गते सोमवार

वैदेशिक रोजगारीपछि च्याउखेती

ADV
२०८१ मंसिर १३ गते ०६:३०
वैदेशिक रोजगारीपछि च्याउखेती

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ का २ युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्  । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म दर्ता गरी गाउँमै सुरु गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।

७ वर्षसम्म वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएपछि आफूहरूले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए । पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उले सुनाए । हाल सबै खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ सजिलै बचत हुने गरेको उनको भनाइ छ । 

उनीहरूले हाल ५ वटा टनेलमा च्याउखेती गरेका छन् । च्याउ बजारमा थोकमा प्रतिकिलो १७० र फर्ममै किन्न आउने व्यापारीलाई  १५० रुपैयाँमा विक्री गर्ने गरेको उनले बताए । 

रोशनले भने, ‘च्याउ विक्रीका लागि बजारको समस्या छैन । उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघट्टी, कालाबञ्जार, बराहक्षेत्र, चतरालगायतमा पुग्ने गरेको छ ।’ 

तत्कालीन समयमा ५० हजार रुपैयाँ लगानीमा सुरु गरेको च्याउखेतीमा अहिले लगानी लाखौंमा पुगेको छ भने यसबाटै परिवारका ६ सदस्यलाई रोजगारी पनि मिलेको छ । त्यसबाहेक थप करिब १० जनालाई जागिर पनि प्राप्त भएको छ । 

मासिक तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले ५०० रुपैयाँ कमाइरहेका छन् । ‘व्यापार भएकाले सधैं एकनास हुँदैन । कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ’, उनले भने, ्‘च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ ।’

च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ । बिषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने र यसको माग पनि बढ्दो रहेको रोशनले बताए । उनका अनुसार हाल दैनिक ३५० किलोसम्म च्याउ विक्री भइरहेको छ ।

साउनदेखि असोजको समय धेरै विक्री हुने समय भएको उनको अनुभव छ । वर्षमा ९ महिना च्याउको राम्रो उत्पादन हुने उनले बताए । ‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मिहिनेत गर्दा पनि राम्रो कमाइ हुृने रहेछ । अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्नँ’, रोशनले भने ।

उनले च्याउखेतीका लागि गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट  १ लाख रुपैयाँ अनुदान पाएका थिए भने यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार रुपैयाँ अनुदान दिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise