काठमाडौं : वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ८ बस्ने ४२ वर्षीया कल्पना कुँवर रहेको प्रहरीले जनाएको छ । पीडितबाट ३ लाख ३० हजार रकम लिई कुँवर फरार रहेको प्रहरीले बताएको छ ।
उनले पोल्यान्ड पठाउने र पोल्यान्ड पुगेपछि मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिने विश्वास दिलाई पीडितबाट उक्त रकम लिई तत्कालैदेखि फरार रहेको प्रहरीले बताएको छ ।
पीडितले दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुँवरलाई टेकुबाट पक्राउ गरेको हो । कुँवरलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।