२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

कविता : सपना र परिवेश

himalayanlife
२०८१ मंसिर १५ गते ०६:१५
Shares
कविता : सपना र परिवेश

–मोहनराज काफ्ले

म कल्पन्थें, म गम्थें 
म सम्झन्थें, सोच्थें, कल्पना गर्थें
म मानव भएर जिउने अभिलाषा राख्थें 
म मेरो परिवेश केलाउँथें 
म सपना देख्थें, म गन्तव्य सोच्थें
मेरा पुर्खा र बराजुहरूको नियति सुन्थें
मेरा बाजे र बाका दुःख, कष्ट देख्थें
छिमेकीहरूमा पनि उस्तै पीडा पाउँथें
नदेखे पनि कथाका शहरसँग दाँज्थें
परदेशमा उन्नतिका हावा चलेको सुन्थें
त्यो हावा आँधी बनेर आओस् भनी चाहन्थें ।

के थियो र माध्यम त्यतिबेला
न कुनै विकास, न कुनै प्रविधि
थिए त केवल सुनेका कथा
कोमल दिमागले पढेका पाना
तर पनि मनले कल्पना गथ्र्यो 
दिमागले उन्नत सपना देख्थ्यो
चौतारीहरूमा योजना बन्थ्यो
चिया पसलहरूमा विकासको बहस चल्थ्यो
यसै गरी गरी परिवर्तनको लहर चल्थ्यो ।

यस्तैमा पनि नगरेको त कहाँ हो र !
इतिहासलाई नखोतलेको कहाँ हो र !
बुनेका योजना थन्क्याएको पनि कहाँ हो र !
हाम्रा बाजे बराजुले पनि सोचेकै थिए
हामीले पनि कल्पेकै थियौं
कहिले सडक ततायौं, कहिले बिगुल घन्कायौं
कहिले लाठी भाला त कहिले राँको दन्कायौं
घरबार छाडेनौं कि दरबार घेरेनौं
सपनाको पहाड चढ्न केके गरेनौं
कयौं पर्खाल भत्काएकै हौं
कयौं दानव ढलाएकै हौं
पुराना दरबार भत्काएर 
नयाँ दरबार बनाएकै हौं
सपना पूरा होला भनी 
बेलाबेला रमाएकै हौं
विकासको आँधी ल्याउन भनी
नयाँनयाँ बाटो बनाएकै हौं ।

अब त कपाल फुलिसकेछ
तन, मन पनि गलिसकेछ
जेजे सपना देखिएको थियो
बीचबीचमा धेरै ढलिसकेछ
हिजो सँगै हिँडेको मूल बाटो
आज हाँगैहाँगामा फाटिसकेछ
सहयात्रीको गन्तव्य फरक भएपछि
मूल धामले नेटो काटिसकेछ ।

आज लाग्दै छ– कतै नयाँ घरबार ठडिने त होइन ?
पुराना ती दरबार सजिने त होइन ?
खोला तर्दै पुल काट्दा
भेल बाढीमा खसिने त होइन ?
जँघार तर्न नसकेर 
बीच नदीमा फसिने त होइन ?
कालीगढमा एकता नभएर
सपनाको महल भत्कने त होइन ?

सम्बन्धित खबर