लुम्बिनी : मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा संचालन गर्न पर्यटक तथा चालक दलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र स्वास्थ्य परीक्षणलगायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्न प्रदेश सरकारले प्रयास थालेको बताएका छन् ।
‘गौतमबुद्ध विमानस्थलको दिगो संचालन, लगानी र सम्भावना’ विषयमा भैरहवामा भएको छलफलमा मुख्यमन्त्री आचार्यले विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले बुटवल र भैरहवा मात्र नभई लुम्बिनीवासीमा उत्साह भरेको बताउँदै संघीय सरकारलाई यहीँबाट प्रक्रियागत सबै काम सम्पादन गर्ने अधिकार प्रत्यायोजन गर्न आग्रह गरे ।
विमानस्थल संचालन भएपछि लगानीको वातावरण बनेको बताउँदै मुख्यमन्त्री आचार्यले उद्यमी, व्यवसायीलाई ढुक्क भएर लगानी गर्न पनि आह्वान गरे । साथै, उनले लगानीमैत्री वातावरण निर्माणमा बाधक कानुन संशोधन गर्न आफू तयार रहेको जानकारी दिए ।