काठमाडौं : चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा रोजगारी खोज्दै करिब साढे २ लाख नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार कार्तिक मसान्तसम्म २ लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
कात्तिकमा ७० हजार ९९० जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । व्यक्तिगत श्रम स्वीकृतिमा जानेको संख्या बढ्दै जाँदा संस्थागत अर्थात् म्यानपावर कम्पनीबाट जानेको संख्या भने कार्तिक महिनामा पनि घटेको छ ।
गत असोजमा २४ हजार ३९१ जना गएकामा कार्तिक महिनामा म्यानपावर कम्पनीबाट २३ हजार ५५५ जना गएका छन् । कार्तिकमा रि–इन्ट्रीका माध्यमबाट ३४ हजार १६६ जना, सरकारी प्रणालीमा जाने दक्षिण कोरिया र इजरायलमा ६०७ जना र व्यक्तिगत श्रम स्वीकृतिमा १२ हजार ५९८ जना गएका छन् । व्यक्तिगत श्रम स्वीकृतिमा जानेको संख्या तीव्र रूपमा बढेको छ ।
असोजमा ८ हजार ९३८ जना व्यक्तिगत श्रम स्वीकृतिका लागि गएकामा कार्तिकमा १२ हजार ५९८ जना गएका छन् । प्रतिशतका हिसाबले असोजको तुलनामा कार्तिकमा व्यक्तिगत श्रम स्वीकृतिमा गएको संख्या ४० प्रतिशतभन्दा बढी छ । ४ महिनाको अवधिमा म्यानपावर कम्पनीबाट १ लाख २ हजार ९८२ जना वैदेशिक रोजगारीमा जाँदा व्यक्तिगत श्रम स्वीकृतिमा ३६ हजार ८१५ जना गएका छन् ।
व्यक्तिगत श्रम स्वीकृतिका माध्यमबाट जानेमा पुरुष कामदार सँगसँगै महिलाको संख्यामा पनि तुलनात्मक रूपमा उच्च मात्रामा वृद्वि देखिएको छ । चालू आर्थिक वर्षका ४ महिनामध्ये भदौ र असोजमा क्रमशः १ हजार ७४६ र १ हजार ७५२ जना वैदेशिक रोजगारीमा गएकामा साउन र कार्तिकमा क्रमशः २ हजार ३७२ र २ हजार ३३० जना महिला व्यक्तिगत श्रम स्वीकृतिमा गएका छन् ।
सरकारले महिला कामदारमाथि जोखिम बढेको भन्दै घरेलु काममा पठाउन श्रम स्वीकृति रोकेको छ । तर, व्यक्तिगत श्रम स्वीकृतिमा गएका महिलाको संख्यामा पछिल्ला महिनामा गएको तथ्यांकले उनीहरू संस्थागत अर्थात् कम्पनीमा काम गर्न गएकामा शंका गर्नुपर्ने कतिपयको भनाइ छ ।
व्यक्तिगत श्रम स्वीकृतिमा जाने पुरुष तथा महिलाको प्रमुख गन्तव्य यूएई रहेकोे पनि विभागको तथ्यांकले देखाएको छ । यसरी व्यक्तिगत रूपमा जाने प्रवृत्तिले जोखिम बढाउने विज्ञहरूले बताए पनि वैदेशिक रोजगार विभागले सहज तरिकाले श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।