काठमाडौं : काठमाडौं जिल्ला अदालतले भिजिट भिसाको सेटिङ सम्बन्धमा गरेको मुद्दाको फैसला तयार हुन बाँकी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्माको इजलासले शुक्रबार उक्त मुद्दाको फैसला गरेको थियो ।
त्यस सम्बन्धमा मध्यान्ह दैनिकको आइतबारको अंकमा समाचार प्रकाशन भएको थियो । मुद्दामा प्रतिवादी बनाइएका अधिकृत कुशल बरालले प्रकाशित समाचारमा प्रतिक्रिया जनाउँदै ४ जनालाई मात्र दोषी ठहर गरी आफूसहित अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोले सफाइ पाएको र पुनर्वहालीको प्रक्रियामा रहेको बताए । लिखत किर्ते तथा संगठित अपराधसम्बन्धी कसुरमा गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव र गणेश पाण्डेलाई मात्र कसुरदार कायम गरिएको पनि अधिकृत बरालले बताए ।
सफाइ पाएका अधिकृतहरूले अदालतबाट लिखित जानकारी लिएर तत्कालीन अवस्थामा आफू कार्यरत कार्यालयमा पेस गर्ने छन् । लिखत किर्ते र संगठित अपराधसम्बन्धी कसुरमा कसुरदार ठहर भएकाहरूलाई कैद निर्धारण गर्न अर्को पेसी तोकिने बताइएको छ ।