अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले जनताको घरमै पुगेर सेवा दिन थालेको छ ।
गाउँपालिकाले घुम्ती शिविरमार्फत् योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण, माटो परीक्षण, रेविज खोप तथा परामर्श सेवा दिन सुरु गरेको छ ।
शिविरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवम् पशु सेवा, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवामा सहजीकरणसमेत गरिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले आठ वटै वडामा पुगी घुम्ती शिविरमार्फत् नागरिकलाई सेवा प्रदान गर्न थालिएको अध्यक्ष श्रेष्ठले बताए ।
हाल वडा नम्बर १ चिदिकाबाट शिविर सुरु गरिएको र पहिलो दिन शिविर सञ्चालन गर्दा पालिकाले चालू आर्थिक वर्षका विभिन्न योजना सम्झौता गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पान्डेले बताए । नागरिकलाई सहज सेवा र योजना कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि घर दैलोमै पुगेर शिविर सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष मनि पन्थिले बताइन् ।
‘यसपालि दूरदराजसम्म पुगेर नागरिकलाई सहज सेवा दिऊँ भन्ने हिसाबले लागेका छौँ, घुम्ती शिविरमा जनप्रतिनिधिसहित कर्मचारी, स्वास्थ्यकर्मी, पशु तथा कृषि प्राविधिक पनि छन् । गाउँघरमा हुने समस्या सोही स्थानबाटै समाधान गरौँ भन्ने लागेको छ’,प्रमुख प्रशासकीय अधिकृत राजन पान्डेले भने, ‘हाम्रो मुख्य उद्देश्य पुस महिना अगावै योजना सम्झौता गरिसक्ने हो, समयमै सम्झौता भयो भने समयमै योजना कार्यान्वयन गर्न पनि सघाउ पु¥याउँछ । यसले गुणस्तरीय काममा पनि सघाउ पुग्ने अपेक्षा छ’, उनले भने ।
वडा नम्बर १ चिदिका वाड कार्यालयदेखि सुरु गरिएको शिविर वडा नम्बर ८ अर्घातोषमा पुगेर सकिने पान्डेले बताए । योजनाको प्रभावकारी कार्यान्वयन गराउने, पालिकाद्वारा हुने सेवा वडाबाटै उपलब्ध गराउने, सेवामा नागरिकको प्रभावकारी पहुँच बढाउने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर गरिएको पान्डेले बताए ।
भौगोलिक हिसाबले धेरै विकट नभए पनि गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै वाडबाट घुम्ती शिविर मार्फत् पालिकाले सेवा दिँदा सेवाग्राही उत्साहित भएको वाड नम्बर १ का अध्यक्ष काजीबाबु ज्ञवालीले बताए ।
पहिलो दिन ७ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्नुको साथै योजना सम्झौता, पशुसम्बधि सेवा लगायत सबै खालका सेवा दिइएको गाउँपालिकाका प्रशासन प्रमुख शिव वर्माले बताए ।