२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

म्यादी बीमाका लागि कामदारको १ अर्ब लगानी

ADV
२०८१ मंसिर १८ गते ०६:३०
म्यादी बीमाका लागि कामदारको १ अर्ब लगानी

काठमाडौं : चालू आर्थिक वर्षको ४ महिनामा जीवन बीमा  कम्पनीहरूले वैदेशिक रोजगार म्यादी बीमाबाट १ अर्ब रुपैयाँभन्दा बढी बढीको व्यापार गरेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार कार्तिक मसान्तसम्म २ लाख २७ हजार ८३ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा जीवन र ३ वटा लघुजीवन बीमा कम्पनीले २१ लाख ६८ हजार ५५ वटा वैदेशिक रोजगार बीमालेख विक्री गरी १ अर्ब ५ करोड ६७ लाख ८७ हजार रुपैयाँ आर्जन गरेका हुन् ।

वैदेशिक रोजगार म्यादी जीवन बीमामा १६ देखि ६० वर्ष उमेर समूहका कामदारले १ देखि ५ वर्षसम्मको बीमा गर्ने गरेका  छन् । देश र उमेरअनुसार म्यादी बीमाको रकम फरकफरक छ ।

वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र यूएईसहित खाडीका देश र मलेसिया जाने कामदारहरूले १ हजार ५०० देखि ४ हजारसम्म तथा कोरिया र इराजरायल जाने कामदारले २ हजार ५०० को बीमा गर्नुपर्ने व्यवस्था छ । ठूलो संख्यामा खाडी मुलुक र मलेसिया जाने कामदारको श्रम स्वीकृति २ वर्षको हुने भए पनि म्यादी बीमा श्रम स्वीकृतिभन्दा १ वर्षभन्दा बढी अवधिको प्रिमियम तिरेर गराउँदै आएका छन् ।

३ वर्ष अवधिको म्यादी बीमा गर्दा कामदारको हित हुने भन्दै  प्रिमियम रकम बढाइए पनि त्यसको प्रत्यक्ष लाभ भने बीमा कम्पनीले पाएको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । 

४ महिनाको अवधिमा म्यादी बीमालेख विक्री गर्नेमध्ये सन नेपाल लाइफले सबैभन्दा धेरै ४६ करोड ५२ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ । एसियन लाइफले २० करोड २० लाख ११ हजार, नेपाल लाइफले ८ करोड ९६ लाख ९७ हजार रुपैयाँको बीमालेख बेचेको छ ।

त्यस्तै, नेसनल लाइफले ८ करोड ३२ लाख २९ हजार, सानिमा लाइफले ५ करोड ३४ लाख ९५ हजार, सूर्यज्योति लाइफले ५ करोड १७ लाख ९ हजार, रिलायबल नेपाल लाइफले ४ करोड ३० लाख ५३ हजार, आइएमई लाइफले ३ करोड ६३ लाख २८ हजार, सिटिजन लाइफले २ करोड ९४ लाख २ हजार, प्रभु महालक्ष्मी लाइफले १२ लाख ८१ हजार र हिमालयन लाइफले ५ लाख ५५ हजार बीमा शुल्क संकलन गरेका छन् ।

लिबर्टी माइक्रो लाइफले ४ लाख ९४ हजार, क्रेष्ट माइक्रो लाइफले १ लाख ८६ हजार र गार्डिन माइक्रो लाइफले १ लाख २० हजार रुपैयाँको विक्री गरेका छन् । 

अत्यन्तै न्यून जोखिम र उच्च नाफा हुने वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवन बीमालेख विक्रीको निजी क्षेत्रका जीवन बीमा कम्पनीबीच प्रतिष्ठा प्रतिस्पर्धाको विषय बनेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise