काठमाडौं : सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’मा परेका हुन् ।
एएफसीका अनुसार २५ मार्चबाट सुरु हुने प्रतियोगिता राउन्ड रोबिन फर्म्याटमा होम एन्ड अवेमा हुनेछ । तेस्रो चरणमा २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४ टिम छन् । प्रत्येक समूहका विजेता सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एसियन कपका लागि छनोट हुनेछन् ।
नेपालले मार्च २५ मा मलेसियासँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मलेसियासँगै दोस्रो खेल भने १८ नोभेम्बरमा खेल्नेछ । त्यस्तै जुन १० र सन् २०२६ को मार्च ३१ मा लाओससँग नेपालले खेल्ने तालिका छ । नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग खेल्नेछ ।
नेपालले भियतनामसँग अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा पराजित भएको छ । मलेसियासँग भने ७ खेल खेल्दा ६ खेलमा पराजित भएको नेपालले १ खेल बराबरी गरेको छ । लाओससँग भने ५ खेल खेल्दा नेपाल अपराजित छ । ४ खेल नेपालले जितेको छ भने एक खेल बराबरी भएको छ ।
यता नेपाली फुटबल टोली भने मुख्य प्रशिक्षक विहिन छ । यसअघिको मैत्रीपूर्ण खेल नेपालले नवीन न्यौपानेको प्रशिक्षणमा खेलेको थियो ।