काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ३५ हजार नगद पुरस्कार राशि रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए नेपाल) का महासचिव दिपक आचार्यले जानकारी दिए ।
विजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । चौथो हुनेले ५५ हजार र पाँचौं हुनेले ४८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ३६ होलको समाप्तीमा कट लागू हुनेछ । उत्कृष्ट २१ प्रोफेसनल गल्फर तथा प्रो–कट बनाउने एमेच्योरले अन्तिम दुई दिनका लागि स्थान बनाउने छन् । कट बनाउने सबै प्रो गल्फरले नगद पुरस्कार हात पार्नेछन् ।
डिफेन्डिङ च्याम्पियन निरज तामाङ, नेपाल नम्बर एक प्रो भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति प्रमुख दाबेदार खेलाडी हुन् । उनीहरूलाई पछिल्लो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ ।
नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपिजिए)का अध्यक्ष रविन्द्रमान श्रेष्ठले यस प्रतियोगितामा खेलाडीहरूको प्रभावशाली स्कोर आउनेमा विश्वस्त रहेको बताए । साथै उनले प्रायोजक, सूर्य नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद दिए ।