काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पहिलो जित दर्ता गरेको छ । कप्तान रोहित पौडेलको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा लुम्बिनीले प्रतियोगितामै पहिलो जित हात पारेको हो ।
लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।
चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोडे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।
लुम्बिनीका लागि रोहितकुमार पौडेलले ५७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान गरे भने साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाए । चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए ।