काठमाडौं-कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) को आर्थिक तथा युएनएफपीएको प्राबिधिक सहयोगमा मधेश प्रदेशमा ‘सेफ गल्र्स’ कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमका लागि कोइकाले ६६ लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराउने छ । यसमध्ये २२ लाख अमेरिकी डलर मधेश प्रदेशमा किशोरीहरूलाई हानिकारक अभ्यासहरू र लैंगिक हिंसाबाट जोगाउन, उनीहरूको सामाजिक सञ्जाल निर्माण गर्न सहयोग पुर्याउन र डिजिटल प्रविधिको प्रयोग गर्दै सुरक्षित स्थानहरू उपलब्ध गराउने छ ।
साथै, यो कार्यक्रमले विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म बृहत यौनिकता शिक्षाको पहुँच पुर्याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन सहयोग पुर्याउने छ ।
कोइकाका निर्देशक मुहेओन कङले नेपालको विकास यात्रामा कोरिया र नेपालको साझेदारीको महत्वलाई जोड दिए । उनले भने,‘यो वर्ष नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्धका ५० वर्ष पूरा भएको ऐतिहासिक अवसर हो । यो अवधिमा हाम्रा देशहरूले आपसी सम्मान, सहकार्य र विकासका लागि साझा प्रतिबद्धतामा आधारित बलियो सम्बन्ध निर्माण गरेका छन् । यो परियोजनाले लैंगिक समानतामा लगानीको गति तीव्र पार्दै दिगो सामाजिक र आर्थिक परिवर्तन सुनिश्चित गर्न थप योगदान पुर्याउनेछ ।’
युएनएफपीए नेपालकी प्रतिनिधि वोन यङ हङले भनिन्, ‘यो साझेदारी विभिन्न तहमा परिवर्तनको उत्प्रेरक बन्न सक्छ । नेपाल सरकारले हासिल गरेका बलियो उपलब्धिहरूलाई अघि बढाउँदै, संघीय, प्रदेश र स्थानीय सरकारको नेतृत्वमा किशोरी र युवतीहरूलाई परिवर्तनका संवाहकका रूपमा स्थापित गर्ने यो परियोजनाको महत्त्वपूर्ण अवसर हो ।’