२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

'स्थानीय सरकार र निजी व्यवसायीहरूबीच सहकार्य र समन्वयको आवश्यकता'

hardik ivf
शहबाज खान
२०८१ पुष २ गते ०७:४७
'स्थानीय सरकार र निजी व्यवसायीहरूबीच सहकार्य र समन्वयको आवश्यकता'

कपिलवस्तु : कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं. १ सेमरास्थित उद्योग वाणिज्य संघ कृष्णानगरको सभा हलमा संघको ११औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा थिए । विशिष्ट अतिथिका रूपमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य मंगलप्रसाद गुप्ता, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अलि मियाँ, लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, पूर्वमन्त्री ईश्वर दयाल मिश्र, पूर्वमन्त्री वीरेन्द्र कनोडियासहित उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले ११औं साधारण सभामा सम्बोधन गर्दै स्थानीय सरकार र निजी व्यवसायीहरूबीच सहकार्य र समन्वयको आवश्यकता औंल्याए । उनले कृष्णानगर क्षेत्रमा विस्थापित उद्योग–व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, "कृष्णानगरको विकास सडक र नालीजस्ता भौतिक पूर्वाधार निर्माणले मात्र सम्भव हुँदैन । यहाँ उद्योग–व्यवसाय स्थापना गरी स्वदेशी उत्पादन र रोजगार सिर्जना गरेमात्र समग्र विकास सम्भव छ ।"

सभामा सहभागी अन्य वक्ताहरूले उद्योग क्षेत्रको पुनर्जागरणका लागि नीति निर्माण, पूर्वाधार विकास र सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । उनीहरूले व्यवसायिक वातावरण सुधार्नका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच निरन्तर संवादको खाँचो रहेकोमा ध्यानाकर्षण गराए ।

कार्यक्रमका क्रममा उद्योग क्षेत्रलाई पुनर्जीवित गर्ने रणनीति, चुनौती र अवसरहरूको गहिरो समीक्षा गरिएको थियो । सभाले कृष्णनगरको औद्योगिक तथा आर्थिक क्षेत्रलाई समृद्ध बनाउने संकल्प व्यक्त गरेको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise