काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताएका छन् ।
मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताएका हुन् ।
उनले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौं आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताए ।
उनले काठमाडौं उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेण्डर आह्वान भइसकेको समेत बताए ।
उनले भने, ‘अहिले हामीले मेलम्चीको पानी वर्षमा ८ महिना मात्र वितरण गरिरहेका छौं । वर्षामा चार महिना वितरण नहुँदा समस्या छ । त्यसका लागि हामीले १२ महिनाको २४ सै घण्टा पानी दिनको लागि सुन्दरीजलमा नयाँ टेण्डर प्लान थपिरहेका छौं । त्यसको क्षमता २५ करोड ५० लाख लिटर छ । त्यो निर्माण भइसकेपछि काठमाडौंवासीको सपना पूरा हुन्छ, उपत्यकाको पानीको समस्या समाधान हुन्छ ।’