अर्घाखाँची,: लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले देश र जनता अर्घाखाँचीबासीको भलो हुने गरी सबै पत्रकारले कलम चलाएमा समाजमा हुने हरेक विकृति अन्त्य हुने बताएका छन् ।
रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन् ।
उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संघीयता आएपछि भएको फाइदाबारे अझैँ पनि जनता अन्योलमा रहेको बताउँदै गणतन्त्र र संघीयता आएपछिको फाइदा बारेमा जनतालाई जानकारी गराउन पत्रकारको कलम महत्वपूर्ण हुने भएकोले प्रदेश संरचनाको औचित्य पुष्टि हुने गरी जनतालाई बुझाउन आग्रह गरे । घिमिरेले लुम्बिनी प्रदेश मानव सूचकांकको दृष्टिकोणले पछाडि रहेको भन्दै प्रदेशमा देखिएका समस्यालाई सञ्चार माध्यम ले उजागर गरी जनताको सामु छर्लंग पार्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले पत्रकारहरु आवाजविहीनको आवाज बनेर जनताको सारथी बन्नुपर्ने बताए । मुस्कानले पत्रकारहरुले आफुलाई परिमार्जित गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । लोकतन्त्रलाई बलियो बनाउन पनि पत्रकारिता क्षेत्रले भूमिका खेल्नुपर्ने मुस्कानको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हरि प्रसाद भुसालले राज्यले गर्ने कामकाजको निगरानी गर्ने काम पत्रकारको रहेकाले पत्रकारले निष्पक्ष रूपमा आफ्नो कलम चलाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्यले समाजमा देखिएका विकृति विसंगति विरुद्धमा पत्रकार महासंघलेको अगुवाइमा कलम चलाउनुपर्ने बताउँदै तिनै तहका सरकारले प्रवाह गर्ने सेवा अझैँ पनि प्रभावकारी हुन नसकेकाले त्यसतर्फ आफ्नो कलममार्फत भूमिका खेल्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले हरेक क्षेत्र तथा निकायमा भ्रष्टाचार अनियमितता मौलाएको भन्दै त्यसको नियन्त्रणका लागि जवाफदेही पत्रकारिताको माध्यमबाट कलम चलाउन पत्रकारहरुलाई अनुरोध गरे ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य राधा नेपालीले सामाजिक सञ्जालको दुरुपयोगले मिडिया र प्रेस जगतमा चूनौती थपेको बताइन् ।