अर्घाखाँची : नेपाल पत्रकार महासंघ अर्घाखाँची जिल्ला कार्य समितिसहित नवनिर्वाचित केन्द्रीय परिषद् सदस्य, प्रदेश परिषद् सदस्य तथा कार्यसमितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएको चौथो दिन पदभार ग्रहण तथा पद हस्तान्तरण गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद भुसालले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यहरुलाई आ–आफ्नो पद तथा गोपनीयताको सपथ यसअघि शनिबार गराएपछि अध्यक्षसहित पदाधिकारीले पदभार ग्रहण तथा पद हस्तान्तरण गरेको पत्रकार महासंघ अर्घाखाँचीका जिल्ला सचिव लक्ष्मण घिमिरेले जानकारी दिए ।
अर्घाखाँची महासंघको जिल्ला कार्यसमितिमा निर्वाचित भएका अध्यक्ष गणेश खनाल, उपाध्यक्ष अम्बिका बेल्वासे, सचिव लक्ष्मण घिमिरे, कोषाध्यक्ष नवीन केसी, सहसचिव घनश्याम पौडेल र समावेशी सह–सचिव बसन्त श्रेष्ठलेसहितका सदस्य पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गणेश खनालले प्रेस स्वतन्त्रताका लागि पत्रकार महासंघले सशक्त भूमिका निर्वाह गर्ने बताए । पत्रकारिता क्षेत्रलाई मर्यादित व्यवस्थित बनाउन र पत्रकारहरुको व्यक्तिगत आचरण तथा क्षमता विकासका लागि आफुले योजनाबद्ध ढंगबाट काम गर्ने उनले बताए । खनालले पत्रकारिता क्षेत्रको विकासका लागि तीनै तहका सरकारसँग समन्वय गरी विभिन्न खालका तालिमहरु सञ्चालन गर्ने, फिचर लेखन तालिम दिने जस्ता महत्वपूर्ण काम गर्ने दाबी गरे । उनले पछिल्लो समय पत्रकारितामा देखिएको विकृति अन्त्यका लागि पहल गर्ने जिकिर गरे ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान अध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी अशोक खनालले पत्रकारिताको विकासका लागि जिल्लामा रहेका सबै क्रियाशिल पत्रकारहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेम नारायण आचार्यले व्यवसायिक पत्रकारिताका लागि राज्यले पत्रकारलाई हेर्ने दिष्टिकोण बदल्नुपर्ने बताए । उनले पत्रकारिता क्षेत्रभित्र बढ्दै गएको विकृति, विसंगतीको अन्तयका लागि पत्रकार महासंघले भूमिका खेल्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य हिम जिसी लेकालीले नेपाली पत्रकारिता र मिडिया उद्योगले भोगिरहेका समस्या समाधान गर्दै पत्रकारिताको वृहत्तर हित र विकासका लागि नीतिगत नेतृत्व तथा व्यावहारिक सक्रियताका साथ महासंघको समग्र दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका पूर्व उपाध्यक्ष वीरेन्द्र केसीले लोकतन्त्रको सुदृढीकरण गर्दै पत्रकारहरुले अनुशासित हुँदै सत्य तत्थ समाचारलाई आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव हृदय कुमार भुसालले प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको विकासका लागि सबै श्रमजीवी पत्रकारहरू एक जुट भएर अघि बढ्नुपर्ने समय आएको बताए । श्रमजीवी पत्रकारहरुको हकहितको काममा सबै पत्रकारहरू एकजुट भएर राजनीतिक दलहरूको छायाँबाट पत्रकारिता क्षेत्रलाई मुक्त राख्नुपर्ने उनले बताए ।
कार्यक्रममा वरिष्ठ पत्रकार मुक्तिनाथ भुसालले पछिल्लो पटक आम नागरिकले पत्रकारलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेकोले त्यसलाई चिर्न पत्रकारहरुले व्यवसायिक इमानदारिता देखाउनुपर्नेमा जोड दिए । पत्रकार महासंघ अर्घाखाँचीका सचिव लक्ष्मण घिमिरेले अर्घाखाँचीको पत्रकारितालाई विश्वासिलो भरपर्दो बनाउन र मिडिया हाउस जोगाउनका लागि अस्तव्यस्त रहेको विज्ञापन प्रणालीलाई सुधार गरेर लैजान पत्रकार महासंघको नयाँ नेतृत्वले पहल गरी सबै पत्रकारहरुलाई लेखेर जिविकोपार्जन गर्न सकिन्छ भन्नेकुरा विश्वास दिलाउने गरी काम गर्ने बताए ।