२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

परराष्ट्रमन्त्री राणा दिल्लीतर्फ

draupadi film
मध्यान्ह
२०८१ पुष ४ गते ०८:१४
परराष्ट्रमन्त्री राणा दिल्लीतर्फ

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा भारत गएकी छन् । युरोप भ्रमणमा रहेकी उनी बुधबार दिउँसो भारत प्रस्थान गरेकी हुन् । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणको तयारी स्वरूप उनी भारत गएकी हुन् ।

दिल्लीमा मन्त्री राणाले भारतका विदेशमन्त्री एस जयशंकरदेखि उच्च तहका व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । साथै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने तयारी भइरहेको परराष्ट्र स्रोत बताउँछ ।

परराष्ट्रमन्त्री राणा बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात् जर्मनीको भ्रमणमा थिइन् । उनी जर्मनीबाटै सिधै भारततर्फ प्रस्थान गरेकी हुन् । जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन, २०२४ मा सहभागिता जनाएकी थिइन् । त्यस अवसरमा परराष्ट्रमन्त्री राणाले लैंगिक अल्पसंख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरेकी थिइन् ।

भारतमा हुने आर्थिक सम्मेलनमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो)को आयोजनामा शुक्रबार हुने सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

मन्त्री राणाको भारत भ्रमणको पूर्वसन्ध्यामा मंगलबार परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र नेपालका लागि कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तवबीच भेटघाट भएको छ ।

भेटघाटमा परराष्ट्रमन्त्री राणाको भारत भ्रमणलगायत विषयमा कुराकानी भएको छ । भारतीय संचार माध्यमले भारतीय समकक्षी जयशंकरसँग मन्त्री राणाले भेट्न सक्ने उल्लेख गरेका छन् ।

समाचार एजेन्सी एएनआईले आउँदो जनवरी दोस्रो साता प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न सक्नेगरी प्रस्तावित मितिमा २ मन्त्रीबीच छलफल हुने उल्लेख गरेको छ । मन्त्री राणा युरोप प्रस्थान गर्दा दिल्ली जाने कार्यक्रम बनिसकेको थिएन । उनी युरोप जाँदा ५ पुसमा नेपाल फर्किने कार्यक्रम थियो । उनी युरोपमै छँदा भारत जाने कार्यक्रम तय भएपछि उनी १ दिन ढिलो शनिबार नेपाल फर्किने छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र चीनसँग भएको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतालाई लिएर बहस भइरहेका बेला परराष्ट्रमन्त्री राणाको भारत भ्रमण हुन लागेको हो ।

प्रधानमन्त्री ओलीले १७–२० मंसिरसम्म चीनको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा २ देशबीच बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको थियो ।
चीनबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री राणा लामो समयका लागि युरोप भ्रमणमा निस्किएकी थिइन् ।

राणाले यसअघि २ भदौमा भारतको ५ दिने औपचारिक भ्रमण गरेकी थिइन् । उपचारका लागि भारत जाने भनिए पनि त्यस भ्रमणलाई भारतले द्विपक्षीय बनाएको थियो । भ्रमणका क्रममा समकक्षी जयशंकरसँग छलफल हुनुका साथै प्रधानमन्त्री मोदीसँग पनि भेट भएको थियो । दिल्लीले उनलाई निकै महत्त्व दिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise