काठमाडौं : मध्यपुर थिमि नगरपालिकाले मध्यपुर महोत्सव–२०८१ गर्ने भएको छ ।
नगरपालिकाले बिहीवार पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिएको हो । नगर प्रमुख एवं महोत्सवका संयोजक सुरेन्द्र श्रेष्ठले पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन र स्थानीय सम्पदालाई रोजगारी एवं आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील र प्रगतिशील बनाउने अवधारणाका साथ महोत्सवको आयोजना गरिन लागिएको बताए । स्थानीय मौलिकतालाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको महोत्सव एउटा जीवन्त र दीगो पर्यटनमुखी बनाइने उनले बताए ।
महोत्वस १२ पुसदेखि १४ सम्म ३ दिन चल्ने छ । महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पु¥याउनु रहेको छ ।
साथै, महोत्सवले नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने र समय–समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने अपेक्षा गरिएको छ । महोत्सव थिमि शंखधरचोकबाट सुरु भई विभिन्न कार्यक्रम र प्रदर्शनी गरिने बताइएको छ । बालकुमारी, चपाचो, नगदेश र वोदे हुँदै तिगनिको नीलबाराहीलगायतका ऐतिहासिक बस्तीक्षेत्रमा महोत्सव सञ्चालन हुने छ ।
महोत्सवमा नगरका विभिन्न स्थानमा करिब ४ सय स्टल रहने छ । स्थानीय मौलिक कला संस्कृतिअन्तर्गत २५ वटा विभिन्न नाचहरू प्रदर्शन हुने र साँस्कृतिक बाजागाजा तर्फ २६ प्रदर्शनी रहने छ ।
महोत्सवका आकर्षणहरूमा भगवान गौतम बुद्धको अस्तुधातु, चपाचोको पाटी, विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छड्ने जात्राको प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब ५ फिट अग्लो सुकुन्दा आदि रहने छ ।