२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ  : प्रधानमन्त्री

shivam cement
२०८१ असार ८ गते १६:३८
Shares
समझदारीअनुरूप नै सत्तासमीकरण निरन्तर रहन्छ  : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै वर्तमान सत्तासमीकरण निरन्तर रहने बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सातौं राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले वर्तमान सत्तासमीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरणले निरन्तरता पाउने बताएका हुन् ।

प्रधानमन्त्रीले भने, “आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्ने किसिमको प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ । सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।”

प्रधानमन्त्रीले मुलुकका जाति, जनजातिले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताए । उनले भने, “विभिन्न जाति, जनजातिहरूको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन । उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका विषय हाम्रा हुन् । उत्पीडित वर्गले जति अधिकार पाएका छन्, त्यो माओवादीका कारण प्राप्त भएको हो ।”

प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आमनेपाली मुक्तिकामी जनताको संघर्ष भएको स्पष्ट पारे । उनले भने, “जनयुद्ध जनताको युद्ध थियो । लाखौँ जनताले आफ्नो मुक्तिका लागि संघर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो । आज हामी नितान्त भिन्न परिस्थितिमा छौं । हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौं । यही आधारमा टेकेर समाजवादको मार्ग तयार गर्छौं ।”

प्रधानमन्त्रीले चाँडै पार्टी केन्द्रीय समितिको बैठक गरेर विशेष महाधिवेशनको मिति निर्धारण हुने बताउँदै पार्टीका सबै नेताकार्यकर्ताले फुर्सद नपाउनेगरी अभियान सञ्चालन गरिने जानकारी दिएको प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर