काठमाडौं: कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान गठबन्धन सरकारसँगको बहुमत कृत्रिम रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा सोमवार आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा बोल्दै नेता रिजालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकार र वर्तमान सरकार दुवै कृत्रिम बहुमतको आडमा बनेको बताएका हुन् ।
‘अहिले कांग्रेस र एमाले एक ठाउँमा छ, त्यसलाई कृत्रिम बहुमत होइन भन्न भएन । हामीले मेनुफ्याक्चर गरेको बहुमत हो, आम जनताले दिएको बहुमत होइन’, उनले भने ।
साथै, कांग्रेस र एमाले मिलेर संविधानमा देखिएका कमीकमजोरी सुधार गर्ने भनिएपनि स्थानीय तह निर्वाचनमा समेत गठबन्धनको नीति लिइएको भन्दै उनले असन्तुष्टि जनाए । ‘कांग्रेस र एमालेसँगै आएर बाटो खोजी गर्नुपर्छ भन्नेको एउटा गाउँपालिकाको निर्वाचनमा पनि कांग्रेसको चुनाव चिन्हमा एमालेको उम्मेदवार बन्ने खालको गठबन्धन बनाउनुपर्छ भन्ने पक्षमा भनेको होइन’, उनले भने ।
अहिले जनतामा चरम निराशा रहेको र सरकार त्यसलाई चिर्नेतर्फ अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
रिजालले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति फेरि पार्टीको राजनीतिमा फर्किने कुरालाई गलतको संज्ञा दिए । ‘सम्मानित पदमा पुगेकाहरू फेरि सक्रिय राजनीतिमा आउनु गलत हो’, उनले भने ।