बुटबल : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकारप्रति जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गरिन् । तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्नेमा संग्रौलाको जोड थियो ।
कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको उनले बताइन् । कांग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजबुत बनाउन, जनतासँग नेताहरु पुगी समस्या पहिलाउन र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिएर क्रियाशील सदस्यता वितरण पनि अगाडि बढाएको उनले बताइन् ।
पूर्वसांसद समेत रहेकी नेतृ संग्रौलाले पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताइन् ।