२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

राप्रपाले सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने

Nada
२०८१ पुष ९ गते १९:१९
Shares
राप्रपाले सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने

काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)ले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने भएको छ । पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य तहमा सरकारविरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

ncell

ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए । त्यस्तै उनले सरकारले अर्थतन्त्र चलायमान गराउन नसकेको, अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्युहमा फस्न जाने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।

बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समीक्षा गरिएको लिङ्देनले बताए । बैठकले सहकारी पीडितहरूको बचत फिर्ताको सुनिश्चितता गर्न र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेकामाथि सरकारले गरेको दमन तुरुन्त रोक्न पनि माग गरेको छ । 
यस्तै राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताहरूका लागि सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी गरेको छ ।

राप्रपाले जारी गरेको कार्यविधिमा पार्टीका सदस्यले प्रतिस्पर्धी पार्टी व्यक्ति वा समूहले श्यर गरेको सामग्री श्यर, लाइक र रिट्विट गर्न नहुने उल्लेख छ । साथै नकारात्मक शब्द, भाव, प्रतिक्रियात्मक फोटो पोस्ट गर्न नहुने पनि कार्यविधिमा उल्लेख छ ।

कार्यविधिको परिच्छेद ३ (१०’ग’) मा भनिएको छ, ‘सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री श्यर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन ।’ सदस्यले पार्टीको सदस्य वा अन्त्य कुनै व्यक्ति, समाज, समुदाय, लिङ्ग, वर्ण र समुदायप्रति पनि द्वेष फैलाउनेगरी सामग्री सम्प्रेषण गर्न नहुने कार्यविधिमा उल्लेख छ । सदस्यले कार्यविधिविपरीत हुने गरी सामाजिक सञ्जाल उपयोग गरेमा दफा १५ वा १६ बमोजिम अनुशासनको कारबाही हुन सक्ने पनि राप्रपाले जनाएको छ ।
 

सम्बन्धित खबर