हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूलाई चार दिन हेटौंडामै बस्न निर्देशन दिएका छन् ।
सरकारको नीति तथा कार्यत्रम र बजेट पूर्णरुपमा कार्यान्वयन नहुँदा विकास निर्माणले गति लिन नसकेपछि मुख्यमन्त्रीले मंगलबार प्रदेशको राजधानी हेटौंडामै रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
मन्त्रालयगत रूपमा चालु आर्थिक वर्ष २०८१/०८२ को पछिल्लो महिनाको प्रगतिको समीक्षालाई सम्बोधन गर्दै उनले मन्त्रालयका सचिवहरूलाई पनि हप्ताको ५ दिन कम्तीमा हेटौंडामा रहेर कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
‘अत्यावश्यक कामबाहेक हेटौंडा नछाड्न र मन्त्रालयमै रहेर काम गर्न मुख्यमन्त्रीबाट हामीलाई निर्देशन भएको छ,’ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
सरकारले बजेट खर्च बढाउन र तीव्ररुपमा योजना सम्पन्न गर्न निर्देशन भएको उनले बताए । ‘पछिल्लो समय मन्त्रालयगत रूपमा खर्च कमजोर भयो भन्ने चौतर्फी आवाज उठिरहेको छ । विशेषगरी बहुवर्षे योजनाका कारण सोचेअनुसार मन्त्रालयगत रूपमा खर्च कमी भएको निष्कर्षमा हामी पुगेका छौं । अब खर्च बढाउनका लागि बहुवर्षे योजनाको प्रगति र समयमै सम्पन्न गर्न आवश्यक काम गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ,’ मन्त्री लामिछानेले भने ।