काठमाडौं : तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धिरज मगर र मिरुना मगर फिचर्ड छन् । यसपटक पोस्टरमा लाइट ग्रिन र लाइट पिंकको प्रयोग गरिएको छ ।
पोस्टरमा धिरज मगरले लाइट पिंक ड्रेस लगाएका छन् भने मिरुना मगर लाइट ग्रिन ड्रेसमा देखिएकी छन् । धिरजको स्वभाव लाइट पिंक जस्तै छ । उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ । यस्तै, मिरुना लाइट ग्रिन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छन् । फिल्ममा धिरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ ।
अनुषा सिनेमावुड पिक्चर्स प्रा.लि.को ब्यानरमा बन्ने फिल्म ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए । उनले भने, ‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ ।’
कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । उनले भने, ‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौं ।’
उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा ‘कुस्ती’ रहेको बताए । काठमाडौं रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष २०८२ को भदौमा प्रदर्शन हुनेछ । पोस्टरमा उमंग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।