काठमाडौँ : डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका डा. रावलले एकपछि अर्को गर्दै प्रश्न गरेका हुन् ।
उनले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिएका छन् । एक पानामा उनले आफ्नो भावी योजना प्रस्तुत गरेका छन् ।
पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन् । नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको ?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न उनले गरेका छन् ।
आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन् ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।
रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।
उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।
हेर्नुहोस् पूर्णपाठ :