काठमाडौं : चीनसँग जोडिएका नेपालका नाका तत्काल नखुल्ने भएको छ । चैत १२ गते नेपाल सरकारले चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका खोलेर सामान ढुवानी गर्ने निर्णय गरेको थियो । तर नेपालमा स्थानीय स्तरमा कोरोना संक्रमण फैलन थालेको भन्दै चिनियाँ पक्ष नेपालसँगको व्यापारिक नाका सञ्चालन गर्न अनिच्छुक देखिएपछि तत्काल नाका नखुल्ने भएको हो ।
नेपालको कारण चीनमा पुनः कोरोना फैलन सक्ने भन्दै चिनियाँ अधिकारीहरु सशंकित बनेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । चीनले तत्काल नाका सञ्चालन हुन नसक्ने जानकारी केरुङ प्रशासनले रसुवागढी भन्सारलाई गराएको बताइएको छ । माल वस्तु आयात निर्यातसँगै मानिसको ओहोरदोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षको रहेको छ ।
सामान ढुवानी गर्ने कार्यसँगै मानिसको समेत ओहोर–दोहोर हुने र त्यसले संक्रमणको जोखिम बढाउने चिन्ता चिनियाँ पक्षलाई भएको रसुवागढी भन्सारले बताएको छ । नाका सञ्चालन गर्नेबारे कूटनीतिक तवरमा निर्देशन हुनुपर्ने जानकारी चिनियाँ पक्षले गराएको बताइएको छ ।
नेपाल भारत खुला सीमा र भारतमा तीब्र गतिमा फैलिएको कोरोनाको असर नेपाल नाका भएर आफ्नो मुलुकमा आउँछ कि भन्ने चिन्ता चिनियाँ अधिकारीले व्यक्त गरेको बताइएको छ । व्यापारिक आवागमनले कोरोना नफैलियोस् भन्नेमा चिनियाँ अधिकारीहरुले चिन्ता व्यक्त गर्दै नाका खोल्ने विषयमा केही समय मागेको रसुवागढी भन्सारले जानकारी दिएको छ ।
त्यसो त रसुवा नाकाबाट सामान नआएको दुई महिना नाघिसकेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले पुसको पहिलो हप्ता नेपाल ल्याउनलाई करिब ७० करोड रुपैयाँ बराबरको स्याउ तथा लसुन खरिद गरेको थियो । चिनियाँ नयाँ वर्ष सकिए लगत्तै सामान नेपाल भित्र्याउने उनीहरुको लक्ष्य थियो । तर, सामान लोड गरेर नेपाल आउन उनीहरु हिँडे लगत्तै चीनमा कोरोना संक्रमण फैलिएपछि चीनले आफ्नो सम्पूर्ण नाका बन्द ग¥यो । जसका कारण उक्त सामान हालसम्म नेपाल भित्रिन पाएको छैन ।
करोडौं मूल्य बराबरको फलफूल र लसुन बोकेको कन्टेनरहरु न त तातोपानी र रसुवागढी भएर नेपाल आए न फर्किएर केरुङ नै फर्किन पाए । कन्टेनर नेपाल प्रस्थानसँगै चीनले एक्कासी नाका बन्द गरेपछि सबै कन्टेनरवीच सडकमै फसेको आयातकर्ताहरु बताउँछन् । बाटोमा दुई महिनादेखि अलपत्र परेको कन्टेनरमा स्याउ र लसुन तथा अन्य केही छुट्टै संख्याको कन्टेनरमा लत्ता कपडाहरु रहेको उनीहरुको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies