२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

माओवादीको निष्कर्ष : ओली सरकार उल्टो दिशातर्फ उन्मुख

ADV
मध्यान्ह
२०८१ पुष १८ गते १७:१३
माओवादीको निष्कर्ष :  ओली सरकार उल्टो दिशातर्फ उन्मुख

काठमाडौं : प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सबैतिर असफल भइसकेको निष्कर्ष निकालेको छ । 

बिहीबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदस्यहरूलाई ब्रिफिङ गर्दै सरकार गलत दिशातर्फ उन्मुख भएको निष्कर्ष निकालेको हो ।

बैठकबारे जनाकारी दिदै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार हरेक कुरामा अनुपस्थितजस्तै भएको एक प्रकारले भन्ने हो भने सरकार असफल भइ नै सकेको बताए ।

सुशासनका विरुद्धमा, भ्रष्टाचार गर्नेहरूको संरक्षणमा, माफियाहरू, विचौलियाहरूको संरक्षणमा सरकार लागिरहेको उनले आरोप लगाए ।

उपाध्यक्ष सापकोटाले सरकार नाफामा गइरहेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विरुद्धमा लागेको, अदालतमा मुद्दा रहेका विवादित व्यापारीसँग जग्गा दान लिएको लगायतका विषयमा चर्चा भएको उनले बताए । यी घटनाले सरकारले प्रथम दृष्टिमै भ्रष्टाचारलाई पक्षपोषण गरेको पुष्टि हुने उनको भनाइ छ ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयलाई गुण्डाहरूको क्रिडास्थल बनाएको प्रवक्ता सापकोटाले बनाए । 

मेरिटोक्रेशीको आधारमा छाननिएका त्रिविका उपकूलपति केशरजंग बराल ओलीलाई मन नपरेको उपाध्यक्ष सापकोटाको भनाइ छ ।

वर्तमान सरकार विचार शून्य रहेको र लोकतान्त्रिक विचार, मूल्य, मान्यताबाट च्यूत भएको माओवादीको निश्कर्ष छ । अहिले सरकार नेतृत्व गरेको पार्टी एमालेभित्र लोकतन्त्र समाप्त भएको उपाध्यक्ष सापकोटाले बताए । 

‘ज–जसले राम्रो काम गरेका छन्, जो–जो सु्शासनतिर छन्, तिनीहरूलाई अवरोध सिर्जना गर्ने, दुःख दिने, निकाल्न प्रयत्न गर्ने र विचौलियाहरू र भ्रष्टाचारीहरुलाई जोगाउने काम भइरहेको छ,’उनले भने ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, लेखा समितिका सदस्य ऋषिकेश पोखरेललगायतको सहकारी ठगीमा संलग्नता पुष्टि हुने प्रशस्त आधार हुँदापनि सरकारले नै जोगाइरहेको बताए । सरकार दिनप्रतिदिन अधो गतितिर गइरहेको माओवादीको निष्कर्ष छ ।

‘धनराज गुरुङ र लेखा सभापति ऋषिकेश पोखरेललाई सरकारले उन्मुक्ति दिइएको छ । यहीँबाट सरकारले भ्रष्टाचारीहरूलाई  जोगाइरहेको पुष्टि हुन्छ, धेरै टाढा जानै पर्दैन’, उनले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise