काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण कार्य चैत मसान्तभित्र सक्ने बताएको छ ।
सदस्यता व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर चैत्रभित्र सक्ने निर्णय भएको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए ।
क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।
यसैगरी कांग्रेसका विभागहरूलाई कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिइएको छ । फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न पार्टीले विभाग प्रमुखहरूलाई निर्देशन दिएको हो ।
सबै विभागलाई कार्ययोजना ल्याउन भनिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए । विभागले गरिरहेका काम, गर्नुपर्ने कार्य, समस्या लगायतमा प्रमुखहरूसँग छलफल गरिरहेको छ । गत बुधबार महामन्त्री शर्माले १६ वटा विभागका प्रमुखहरुसँग छलफल गरेका थिए ।
विधानमा ४८ विभागको व्यवस्था गरिएको छ भने पार्टीमा भएको सहमति अनुसार संख्या बढाउने निर्णय भएको छ । कांग्रेसकमा ५६ वटा विभाग बनेका छन् । अधिकांशको विभाग प्रमुख तोकिएको छ भने केहीले सदस्य पनि थपेका छन् ।
प्रत्येक विभागमा प्रमुख सहित बढीमा ५१ सदस्यीय बनाउन सकिने विधानको व्यवस्था छ ।
विभागका सदस्य मनोनित गर्दा हाललाई १० जनाभन्दा बढी नराख्न पार्टीको निर्देशन छ ।