काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी समक्ष आग्रह गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री के. सी.ले शुक्रबार मन्त्री भण्डारीलाई भेटेर ध्यानाकर्षण गराएपछि मन्त्री भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन् ।
रुस–युक्रेन युद्धपछि नेपालले गत वर्ष पुसमा रुसका लागि श्रम स्वीकृति बन्द गरेको थियो । अध्यक्ष डा. के. सी.ले विशेष अवस्थामा गरेको निर्णयमा पुनरावलोकन नहुँदा हजारौं नेपालीका लागि असहज अवस्था उत्पन्न भएको भन्दै नयाँ श्रम स्वीकृति एवं नवीकरणको कार्यलाई तत्काल सुचारु गरिदिन आग्रह गरेका थिए ।
अध्यक्ष डा. के. सी.ले इराकको कुर्दिस्तानमा रहेका नेपालीका समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न र चेक रिपब्लिकमा श्रम स्वीकृति रोकिएको विषयमा पनि मन्त्री भण्डारीलाई आग्रह गरेका छन् ।
जबाफमा मन्त्री भण्डारीले परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर उक्त समस्याको समाधान खोज्ने बताए । रुसका लागि नवनियुक्त राजदूत डा. जंगबहादुर चौहान र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतसमेत भेटमा सहभागी थिए ।