काठमाडौं : राप्रपा नेपालले २०८२ मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले १३, १४ र १५ मंसिर २०८२मा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन, तराई मधेस उत्थान अभियान सम्बन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
बैठकले भ्रष्टाचारको विरुद्ध र सनातन हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनालगायतको माग राखेर चैत महिनादेखि जनसंघर्ष सुरु गर्नेछ । भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्न अहिलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सट्टा ‘जनलोकपाल’को अवधारणामा आधारित अधिकार सम्पन्न संवैधानिक निकायको व्यवस्था गर्न माग समेत बैठकले गरेको छ ।
पार्टी प्रवक्ता वसन्तमान सिंह अधिकारीका अनुसार पार्टीले समान विचारधारा भएका दल तथा समूहसँग एकता गर्ने र एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, सरकारले हालसालै ल्याएको सहकारी सम्बन्धी अध्यादेश अपुरो रहेको पनि निष्कर्ष निकालेको उनले बताए ।
‘सहकारी संस्था संचालनका सम्बन्धी सरकारले हालै जारी गरेको अध्यादेश अपुरो छ । सो अध्यादेशले सहकारी पिडितहरूको समस्या समाधान गर्दैन,’ पार्टी निर्णयमा भनिएको छ ।