२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

इपीएस उत्तीर्ण र रोस्टरकालाई लैजान मन्त्री भण्डारीको आग्रह

ADV
२०८१ पुष २६ गते ०६:२५
इपीएस उत्तीर्ण र रोस्टरकालाई लैजान मन्त्री भण्डारीको आग्रह

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले इपीएस उत्तीर्ण भई रोस्टरमा रहेकासहित नेपाली कामदारलाई शीघ्र रोजगारीमा लैजान दक्षिण कोरियासँग आग्रह गरेका छन् । नेपालका लागि दक्षिण कोरियाली राजदूत थी पार्क ताई योङसँग बिहीबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री भण्डारीले उक्त आग्रह गरेका हुन् ।

भेटमा नेपाल र दक्षिण कोरियाबीच भएको श्रम सम्झौताका विभिन्न पक्षहरूबारे गहन छलफल भएको भन्दै मन्त्रालयले विशेषतः इपीएस प्रणालीअन्तर्गतको सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्ने, सीपयुक्त कामदारलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि, इपीएस उत्तीर्ण भई रोस्टरमा रहेका नेपाली कामदारलाई यथाशक्य छिटो पठाउने, पानीजहाज निर्माणलगायतका क्षेत्रमा छनोट भएका कामदारका मागहरू सम्बोधन गर्नेलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी रोजगारीका लागि कोरिया जान सबै चरण पूरा गरी उडानको पर्खाइमा रहेकाहरूलाई छिटो पठाउन प्रक्रियालाई सहजीकरण गर्नुपर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । 

भेटका क्रममा मन्त्री भण्डारीले आगामी दिनमा नेपाली  कामदारको माग संख्या बढाउनका लागि आग्रह गर्दै विगतमा रोस्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्तिहरूसमेतलाई लक्षित गरी आगामी दिनमा विशेष व्यवस्था गर्नुपर्ने र सो कार्यका लागि सीप विकासमा कोरिया सरकारले सहयोग गर्नुपर्ने विषयमा पनि राजदूत पार्कसँग आग्रह गरेका छन् ।

राजदूत पार्कले नेपाली कामदारहरूको उच्च कदर गर्दै नेपालबाट निरन्तर रूपमा कामदार लैजाने, रोस्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारीमा लैजान पहल गर्ने र थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक रहेको बताएको पनि मन्त्रालयले बताएको छ ।

छनोट भएको १ वर्षभन्दा लामो समयसम्म दक्षिण कोरिया जान नपाएका भाषा परीक्षा उत्तीर्ण युवाहरूले तत्कालै रोजगारीमा जान पाउनुपर्ने माग राखेर गत सोमबार इपीएस कार्यालय घेराउ गरेका थिए । पानीजहाज कम्पनीमा काम गर्न भाषा परीक्षा पास गरेर छनोट भएका ३ हजार ५०० भन्दा बढी युवा १ वर्षभन्दा लामो समयदेखि उडानको प्रतीक्षामा बसेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise