-योगेश्वर रोमखामी मगर
१९६० को दशकमा नेपाल र दक्षिण कोरियाका नागरिकको प्रति व्यक्ति आय बराबर थियो । अहिले दक्षिण कोरियाको प्रतिव्यक्ति आय २५ हजार डलरमाथि पुगिसकेको छ भने हामी नेपालीको अवस्था कस्तो छ आत्म मूल्यांकन गर्नु पर्ने समय हो यो । कुनै पनि देशको अर्थतन्त्र बलियो भएन भने राष्ट्रको राष्ट्रिय सम्मान अभिवृधि हुन सक्दैन भन्ने कुरा जगजाहेर नै छ । कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलम्बी, पराश्रित र राजनीतिक हस्तक्षेपको पीडा व्यहोर्न बाध्य हुन्छ भन्ने कुरा विगतका घटनाक्रम केलाउँदा थाहा हुन्छ । अर्थात कमजोर अर्थतन्त्र भएको राष्ट्र नाम मात्रको सार्वभौम सम्पन्न हुन्छ । राष्ट्र कमजोर हुँदा जनताको मनोबलमा प्रत्यक्ष असर पर्छ ।
विगत तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर सकारात्मक हुँदै गएको थियो । केही महत्वाकांक्षी योजनाहरु अगाडी सारिएको थियो, तर नेपालको अर्थतन्त्र विश्वव्यापी महामारीको आघातलाई सहन सक्ने खालको नभएकाले आर्थिक वृद्धिदरमा कोरोना महामारीले नकारात्मक असर पर्न सक्ने संभावना देखिएको छ । बलियो, स्थिर सरकार र दुरदर्शी राजनीतिक नेतृत्वको खाँचो रहेको यो महामारीको अवस्थामा देशको राजनीति सत्ता खेलमा केन्द्रीत हुनु अत्यन्त लज्जास्पद महसुस गरिएको छ । राजनीतिक स्थिरता र आर्थिक सम्पन्नता अन्योन्यास्रित विषय भएको हुन् । मुलुकको आर्थिक सम्पन्नता र आत्मनिर्भरताको मुद्दा फेरी पछाडी धकेलिने हो कि भन्ने जनमानसमा चिन्ता व्याप्त रहेको छ । यसर्थ देशको आर्थिक पक्ष र महामारीको प्रभावबारे केहि चर्चा गर्न उपयुक्त ठानेको छु । राजनीतिक स्थिरता आर्थिक सम्पन्नताको लागि महत्वपूर्ण हुन्छ । वर्तमान समय महामारीले ल्याउन सक्ने चुनौतीहरुको सामना गर्नमा केन्द्रित हुनु पर्नेमा गैरजिम्मेवार आचरणलाई हास्यास्पद मात्र ठानेर उन्मुक्ति दिन कदापी सकिन्न भन्ने लेखकको मान्यता रहिआएको छ ।
विगत दुई दशकदेखि २०१५ सम्म नेपालको आर्थिक वृद्धिदर औसत ४.४ प्रतिशतमा रह्यो । २०१५ पछि उर्जा विद्युत् र ठूला ठूला परियोजनाहरुको क्षेत्रमा उल्लेखनीय प्रगती भएको देखिन्छ । पछिल्लो तीन वर्ष यता आर्थिक वृद्धि दर औसत ७ प्रतिशतसम्म पुग्यो । २०२० मा यसलाई ८ प्रतिशत पुर्याउने योजना थियो । आर्थिक विचारकहरुले अर्थतन्त्रको वृद्धि दरलाई अध्ययन गर्ने क्रममा यसको तीन वटा क्षेत्रलाई अध्ययन मोडेलको रुपमा लिने गरेका छन् । यसअन्तर्गत प्रथम सेक्टर (क्षेत्र) जसलाई कृषि वा कच्चा पदार्थ, दोस्रो सेक्टर औद्योगिक क्षेत्र र तेस्रोलाई सर्भिस वा सेवाको क्षेत्र भनिन्छ । तेस्रो सेवा क्षेत्र अन्तर्गत चिकित्सा सेवा, अस्पताल, निर्माण, सरकार र निजि क्षेत्रबाट पुर्याइने सेवाहरु होटल, पर्यटन, रियल स्टेट, डिपार्टमेन्टल स्टोर, बजार, शिक्षा, सूचना, सञ्चार र मानव शंसोधन इत्यादी पर्ने गर्दछ । तेस्रो क्षेत्रले कुनै पनि राष्ट्रको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको हुन्छ । विदेशबाट प्राप्त हुने रेमिटेन्स यस अन्तर्गत आउँछ ।
२०१८ को आंकडाअनुसार नेपालको कृषि क्षेत्रको योगदान कूल जीडीपी मा २५.२९५, औधोगिक क्षेत्रको १३.४५५ र सर्भिस सेक्टरको ५१.३९५ थियो । आर्थिक वर्ष २०१८ र १९ अनुसार चीनलगायत दक्षिण एशियाको ८ वटा गरी जम्मा ९ राष्ट्रहरुको आर्थिक वृद्धिदर हेर्दा भारत ७.३५ र बंगलादेश ७.३५ पछि ६.५५ सहित नेपाल तेस्रो स्थानमा थियो भने पाकिस्तान २.९५ र अफगानिस्तान ३.०५ सहित सबै भन्दा तल्लो स्थानमा थिए । दुवै राष्ट्रहरुको अस्थिर राजनीति र भ्रष्टाचार मात्र यसको कारण थियो भन्न अनुपयुक्त नहोला । २०१९ अनुसार कूल जीडीपी २९.८१ अर्ब डलर भएको नेपाल भन्दा बंगलादेशको जीडीपी दश गुणा ठूलो छ । विगतदेखि उत्पादन र औद्योगिक क्षेत्रहरुलाई बेवास्ता गरिएका कारण नेपालको जीडीपी यति न्यून हुन् गएको हो । नेपालको उच्चतम कर, लगानीका लागि झन्झटिलो र अमैत्रिय सरकारी वातावरण र गैरजिम्मेदार नोकरशाहीको कारण विदेशी लगानीलाई पर्याप्त मात्रमा आकर्षित गर्न सकिएको छैन । विदेशी लगानीको लागि अत्यन्त मैत्रीपूर्ण वातावरण भएकै कारण विश्वभरिका लगानीकर्ता चीनतर्फ आकर्षित भएका हुन् । चार पाँच दशकभित्र यत्तिका उत्पादन गर्न थाल्यो कि आज संसारको लगभग ८० प्रतिशत राष्ट्रहरुमा चीनबाट उत्पादित सामान पुग्दछ । यी राष्ट्रहरुको घर–घरमा आज चीन पुगेको छ ।
करिब २६ लाख नेपालीहरु मध्ये पूर्व, दक्षिण कोरिया र मलेशियामा कार्यरत छन । विदेशबाट फर्किने र निजि क्षेत्रले रोजगार दिन नसकेको अवस्थामा सरकारले हस्तक्षेप गर्दै सरकारीस्तरबाट रोजगार सिर्जना गर्नु पर्ने अवस्था आउँछ ।
हामीले वर्षौंदेखिको कृतिम लोडसेडिङबाट मुक्ति पाएको धेरै भएको छैन । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिंगको आगमन, कुशल व्यवस्थापन र तत्कालीन उर्जामन्त्रीको प्रशंसनीय काम र समर्थन स्वरूप भ्रष्ट अपराधीहरुको जालोले रचना गरेको लामो कृतिम अन्धकारबाट नेपालले मुक्ति पाएको हो । जलस्रोतको दोस्रो धनी देश नेपालले धेरै पछिसम्म आफ्नो क्षमताभन्दा धेरै न्यून मात्रामा विद्युत उत्पादन गर्दथ्यो तर विगत केहि वर्षयता यसमा आशालाग्दो ढंगले वृद्धि भएको छ । २०१६ यता विद्युत् उत्पादनको क्षेत्रमा वृद्धि दर तिीव्र रहँदै आएको छ । आर्थिक वर्ष २०१८ र १९ को मध्य मार्चसम्म यसको उत्पादन लक्ष्य १ हजार १४२ मेगावाट पुर्याउने सरकारी अठोठ अनुसार प्रगती देखियो । नवीकरणीय ऊर्जाअन्तर्गत प्राकृतिक प्रक्रिया जस्तै सोलर सिस्टम, ह्वा, फोहर मैलाबाट उत्पादित उर्जा पर्दछ ।
यसका अतिरिक्त मध्य पहाडी राजमार्ग, उत्तर दक्षिण मार्ग तथा पोखरा र भैरहवा विमानस्थलको स्तरोन्नति र निर्माण पनि राम्रै गतिमा भइरहेको छ । औद्योगिक विकासको क्षेत्रमा सकारात्मक अवधारणाको विकास भएका छन् र यस अनुरुप वृद्धि भएमा २०२५ सम्म विद्युत्को माग २०१८ को तुलनामा दोब्बर हुने आंकलन सम्बन्धित क्षेत्रका विज्ञहरुले गरेका छन् । ४२ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने क्षमता नेपालसँग छ । यद्यपी विद्युत् उत्पादन क्षमता ८३ हजारसम्म छ भनिन्छ ।
२२ वटा राष्ट्रिय गौरवका योजनाहरु
राष्ट्रिय योजना आयोगको आवधिक योजना अनुसार आगामी पाँच वर्षभित्र ९.६.५ को दरले आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको थियो । यस योजनाअन्तर्गत २२ वटा राष्ट्रिय गौरवका योजनाहरु, १७७ वटा अत्यन्त प्राथमिकताका आयोजनाहरु छन् । साथै आगामी पाँच वर्ष भित्रमा १५९५ अमेरिकन डलर प्रति व्यक्ति आय पुर्याउने लक्ष्य समेत यस योजना अनुसार देखिन्छ । ठूला परिवर्तनकारी आयोजनाहरुको लागि जस्तै मेलम्ची खानेपानी आयोजना, पोखरा र भैरहवा विमानस्थल लगायत १८ वटा आयोजनाहरुमा सरकारले हात हालेको छ, निरन्तर दिएको छ । एशियन विकास बैंकले गरेको सहयोग अनुरुप विगतमा सरकारी अक्षमताले ऋण रकमको अपेक्षा अनुरुप प्रयोग हुन् सकेको छैन । कोरोना महामारीले आर्थिक वृद्धिलाई अवरोध गर्ने निश्चित छ ।
महामारी पछिको समस्या
नेपालको जीडीपीमा सर्भिस सेक्टरबाट ५७५ को योग्दान पुर्याउने लक्ष्य अपेक्षित थियो । मध्य पूर्वको खाडी मुलुक र दक्षिण पूर्वीय एशियामा कार्यरत नेपालीहरुले पठाएको विदेशी मुद्रा रेमिटेन्सले ३० देखि ३५ प्रतिशतसम्मको योगदान जीडीपीलाई गर्ने गरेको छ । नेपालको लागि विदेशी मुद्रा आर्जन गर्ने ठूलो स्रोत हो रेमिट्यान्स । २०१८ को तथ्यांक अनुसार ८.१ अर्ब अमेरिकन डलर विदेशमा काम गर्ने कामदारहरु मार्फत नेपालले पाएको थियो । रेमिटेन्स आर्जन गर्ने राष्ट्रहरुमा नेपाल १९औ नंबरमा रहेको छ । मध्य पूर्व र दक्षिण पूर्वको १४ वटा राष्ट्रहरुमा नेपाली श्रमिकहरु कार्यरत छन् । अन्य राष्ट्रहरुमा समेत हालको महामारीले गर्दा कल–कारखाना र अन्य काम बन्द भएको अवस्थामा बेतलबीहरुको संख्यामा भारी बढोत्तरी हुनेछ । बेरोजगारीका कारण उनीहरु फर्किने क्रम सुरु भइसकेको छ । वातावरण पुनः सामान्य हुन् वर्ष दिन लाग्न सक्छ भन्ने मेरो ठम्याइ छ । नेपालको प्रत्येक गाउँबाट नेपालीहरु विदेशिएका छन् र यसबाट प्राप्त आम्दानीले घर गृहस्थी चलेको छ । नेपालको गरिबी उन्मुलनमा यसको उल्लेखनीय योगदान छ । नियमित रुपमा चलिरहेको घर गृहस्थीलाई महामारीले धक्का दिने छ । बैंकबाट लिएको कर्जा चुकाउनका लागि विदेशमा डबल शिफ्टमा काम गर्न बाध्य मानिसहरु फर्किने छन् ।
सरकारी तथ्यांक अनुसार दैनिकरुपमा १५ सय नेपाली युवाहरुको समूह विदेसिने गरेका थिए । अन्दाजी ४५ लाखको संख्यामा नेपालीहरु विदेशमा आय आर्जन गर्ने काममा छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय उडानहरु बन्द छन् । उडान सुरु हुने वित्तिकै भारी संख्यामा देश भित्रिने क्रम सुरु हुने छ । सरकारद्वारा घोषित पर्यटन वर्ष २०२० महामारीले गर्दा सफल हुन् सकेन, स्थगित गर्ने घोषणा भइसकेको छ । कोरोना भाइरसको उपचार निम्ति भ्याक्सिनको सफल प्रयोग हुन अझ छिट्टोमा एक वर्ष वा त्यसभन्दा बढी लाग्न सक्छ । तबसम्म पर्यटन आगमन पक्का पनि हुने छैन वा आशालाग्दो हुने छैन । नेपालको आर्थिक क्षेत्रमा पर्यटन र यससँग सम्बन्धित संरचनाहरु होटल, रेष्टुरेन्ट, पदयात्रा, हिमाल आरोहण इत्यादीले ठूलो मात्रामा रोजगार दिएको छ, राष्ट्रिय अर्थतन्त्रमा यसको ठूलो योगदान छ । नेपालले यसबाट बेग्लै पहिचान बनाएको छ । ठूलो संख्यामा भारत लगायत अन्य मुलुकबाट हुने हिन्दु र बौद्ध धार्मिक क्षेत्रका पर्यटन र यससँग संबन्धित रोजगारका क्षेत्रमा समेत अप्रत्याशितरुपमा असर परेको छ ।
र, अन्तमा
राष्ट्रिय संकटको यस अवस्थामा सबै राजनीतिक पार्टीहरु एकै उद्देश्य बनाएर एकजुट हुनु पर्ने हो । यस्तो समयमा पनि सत्तारुढ पार्टीभित्र राजनितिक उठापटक भएको देख्नु र सुन्नु उदेक लाग्दो विषय हो । विभिन्न ठाउँमा राजनीतिक भागभण्डा नमिलेको कारण लक्षित समुदायले आवश्यक सहयोग नपाएको समाचार आजको मितिसम्म पनि सुन्नमा आएको छ । महामारीको समयमा ढिला सुस्ती गर्नु, निष्पक्षताका साथ कार्य सम्पादन नगर्नेहरु राष्ट्रघाती हुन् । यिनीहरुलगायत भरतपुर अस्पतालका सामाग्री चोरहरुलाई विप्लवले भाटे कारवाही गर्नु भन्दा पैला सम्बन्धित निकायबाट राम्रो सन्देश जानेगरी कानुनी कारवाही गरिनु पर्छ । सरकारी प्रयासबाट राम्रा कामहरु भएका छैनन् म भन्न चाहन्न, भएका पनि छन् । तर तुलनात्मक रुपमा अप्रिय क्रियाकलापको फेहरिस्त धेरै लामो छ । सरकारले संकटको यो बेला बकबक गर्नु भन्दा राम्रो काम हेर्न जनता आतुर छन् ।
(मगर नेपाल प्रहरीको अवकाश प्राप्त एसएसपी हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies