काठमाडौं : वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
मोरङ उर्लाबारी नमुना टोलकी भूमिका देवानले १ जनालाई वैदेशिक रोजगारीमा पोल्यान्ड पठाउने भन्दै १ लाख रुपैयाँ लिई लामो समयसम्म झुक्याएर राखेपछि विदेश नपठाई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
प्रहरीले ललितपुरको सुनाकोठीबाट देवानलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको बताएको छ ।
यसअघि वैदेशिक रोजगारीमा पोल्यान्ड पठाउने भन्दै ८० लाख रुपैयाँभन्दा बढी ठगी गरेकोे उजुरीका आधारमा प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिकाका कृष्ण यदुवंशी र गोरखाको सुलिकोटका ३७ वर्षीय राजेश बरामलाई पनि पक्राउ गरेको थियो ।