२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

महाधिवेशन लम्ब्याउने बहानामा ठूला दल

draupadi film
मध्यान्ह
२०८१ पुष २९ गते ०६:४०
महाधिवेशन लम्ब्याउने बहानामा ठूला दल

काठमाडौं : नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) साना पार्टीसँग एकताको प्रयासमा छन् । नेताहरूका अनुसार एकताको प्रयास गर्नुको कारण हो– पार्टीको महाधिवेशन लम्ब्याउने बहाना ।

कांग्रेस नेता डा. शशांक कोइराला सभापति शेरबहादुर देउवाले २०८४ सालको आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गर्न चाहेको बताउँछन् । यसका लागि आवश्यक संवैधानिक र कानुनी प्रावधान मिलाउन र ४ वर्षमै गर्नुपर्ने महाधिवेशन लम्ब्याउन कुनै एउटा सानो पार्टीसँग एकताको प्रयासमा छन् । 

आइतबार दाङको घोराहीमा आयोजित पार्टीका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा कार्यकर्ताहरूसँगको भेटमा कोइरालाले यस्तो बताएका हुन् । 
उनी भन्छन्, ‘पार्टीको महाधिवेशन सभापति शेरबहादुर देउवाले आफू चुनावी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि मात्र गराउनुहुन्छ । यसो गर्दा २०८४ सालपछि मात्र कांग्रेसको महाधिवेशन हुन्छ ।’ 

समयमै पार्टीको महाधिवेशन नभएर लम्बिएको खण्डमा आमनिर्वाचनको मुखमा महाधिवेशन गर्दा निर्वाचनमा तिक्तता पैदा भई पार्टीले निर्वाचनमा क्षति बेहोर्ने भएकाले पनि लम्ब्याउन आवश्यक रहेको नेतृत्वको बुझाइ रहेको उनले बताए । तर, संवैधानिक र कानुनी प्रश्न नउठोस् भनेर अर्को सानो पार्टीसँग एकता गर्ने बहानामा नेतृत्व रहेको उनले सुनाए ।

उनी थप्छन्, ‘सभापति शेरबहादुर देउवाजीले कुनै पार्टीसँग मिलाएर (एकता गरेर) महाधिवेशन धकेल्न सक्नहुन्छ ।’ 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) पनि महाधिवेशन लम्ब्याउन साना पार्टीसँग एकताको बहानामा छ । 

यही २१, २२ र २३ पुसमा बसेको केन्द्रीय समितिको बैठकमा विशेष महाधिवेशनको माग उठेको थियो । त्यसलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को असारमा केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनको तालिका नै तोक्ने घोषणा गरे ।

उक्त घोषणाका क्रममा प्रचण्डले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति बनाउने प्रस्ताव गरे, जसलाई केन्द्रीय समितिले स्वीकार गरेको छ । 

माओवादी नेताहरूका अनुसार माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सहितका राजनीतिक दलहरूसँग एकताको पहल गर्ने निर्णय भएको हो, जसभित्र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत र प्रभु साह नेतृत्वको आमजनता पार्टी समेत पर्छन् । 

यो पृष्ठभूमि राख्दै प्रचण्डले अबको महाधिवेशन एकताको महाधिवेशन हुन सक्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘क्रान्तिकारी कम्युनिस्टबीचको एकतापछि एकताको महाधिवेशन हुन पनि सक्छ ।’

अर्थात्, माओवादी केन्द्र पनि महाधिवेशन लम्ब्याउने बहाना खोज्दै छ भन्ने प्रचण्ड स्वयंको अभिव्यक्तिले पनि देखाएको नेताहरू बताउँछन् । 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पनि महाधिवेशन लम्ब्याउन खोजिरहेको छ । आगामी २०८४ सालको निर्वाचनमा महाधिवेशन गरेर जाँदा त्यसको नकारात्मक असरसमेत पर्न सक्ने आशंकामा एमाले नेताहरू आमनिर्वाचनपछि मात्र महाधिवेशनको पक्षमा पार्टीको मूल नेतृत्व रहेको बताउँछन् । 

एमाले अध्यक्ष ओली स्वयं पनि महाधिवेशन लम्ब्याउन चाहन्छन् । ७० वर्षे उमेर हदका कारण ओली पुनः अध्यक्ष उठ्न पाउँदैनन् । साना पार्टीसँग एकता गरे अर्को कार्यकालसम्म ओली नेतृत्वमा निरन्तर अगाडि जान सक्छन् । 

एमाले नेताहरू जनता समाजवादी पार्टी नेपाल फुटेर बनेको जनता समाजवादी पार्टीसँग एकताको प्रयासमा छन् । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागीसमेत छ ।

ADV

सम्बन्धित खबर

Advertise