२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

मलेसियाको रोजगारीमा सिन्डिकेट प्रपञ्च, सिन्डिकेटको हल्ला चलाउने को हो ?

shivam cement
२०८१ माघ २ गते ०६:२०
Shares
मलेसियाको रोजगारीमा सिन्डिकेट प्रपञ्च, सिन्डिकेटको हल्ला चलाउने को हो ?

काठमाडौं : मलेसियाको रोजगारी नियमित र पूर्ण रूपमा खुला नहुँदै नेपालमा मलेसियाको रोजगारी सम्बन्धमा विभिन्न किसिमका सिन्डिकेटका हल्ला सुरु हुन थालेका छन् । विगतमा कतार, साउदी अरेबिया, यूएईलगायतका मुलुकमा सुरक्षाकर्मी तालिम वा स्वास्थ्य परीक्षणको नाममा सिन्डिकेट खडा गर्ने स्वार्थ समूह नै हाल मलेसियाको रोजगारीमा तालिम वा सीप प्रमाणपत्र जस्ता प्राविधिक विषयलाई अगाडि बढाएर सिन्डिकेट बनाउने प्रपञ्चमा लागिपरेका बताइएको छ ।

हाल प्लान्टेसन क्षेत्रमा छिटफुट विदेशी कामदारको एप्रुभल दिएको मलेसियाले आगामी फेब्रुअरीमा भने ठूलो संख्यामा विदेशी कामदार भित्र्याउन एप्रुभल खुला गर्ने बताएको छ । त्यसअघि उसले कामदारको भर्ना प्रक्रियाबारे नेपालसहित स्रोत मुलुकहरूसँग सरकारी स्तरमा नै छलफल गर्ने बताएको छ ।

मलेसियाले मूलतः औद्योगिक क्षेत्र, कन्स्ट्रक्सन, सेवा, वृक्षरोपण, कृषि, घरेलु सहायक र खानी तथा उत्खनन क्षेत्रमा विदेशी कामदार प्रयोग गरिरहेको छ । औद्योगिक क्षेत्रपछि क्रमशः निर्माण, सर्भिस, वृक्षरोपण अर्थात् प्लान्टेसन, कृषि र घरेलु कामदारको हैसियतमा विदेशी कामदार रहेका छन् । 

मलेसियाको नयाँ कोटा खुलाउँदा कामदारको भर्ना प्रक्रियामा कुनै शुल्क नलाग्ने इम्प्लोइमेन्ट पे मोडलका आधारमा मात्र विदेशी कामदारको एप्रुभल खुलाउनुपर्ने बाध्यता मलेसियाका रोजगारदाताहरूलाई छ ।

यसका अतिरिक्त भर्ना प्रक्रियामा कामदारहरूबाट कुनै पनि शुल्क नलिने र त्यस प्रक्रियामा एजेन्टहरूलाई निषेध गरेको सुनिश्चितता गर्नु मलेसियाका रोजगारदाताहरूलाई बाध्यता पनि छ ।

बेलायती अधिकारकर्मी एन्डी हललगायतका व्यक्ति र ह्युमन राइट वाच जस्ता संस्थाहरूले मलेसियाका रोजगारदाताले ‘शून्य लागत’ भर्ना नीति अभ्यास गरे/नगरेको सूक्ष्म तरिकाबाट निगरानी गरिरहेका छन् । केही दिनअघि मात्र २५१ बंगलादेशी कामदारबाट भर्ना प्रक्रियामा जथाभावी पैसा लिन एजेन्ट प्रयोग गर्ने गरेको आरोपमा मलेसियामा रहेको जापानी कम्पनी कावागुची म्यानुफ्याक्चरिङ एसडीएन बीएचडीमाथि आप्रवासी कामदारको शोषणविरुद्ध अमेरिकी अदालतमा मुद्दा दर्ता हुने सार्वजनिक भएको छ ।

उक्त मुद्दा प्रक्रियामा प्रत्यक्ष संलग्न आप्रवासी कामदार अधिकारकर्मी एन्डी हलले नेपाल आउने बहुराष्ट्रिय कम्पनीको डिमान्डमा कामदार छनोट प्रक्रियामा चासो राखिरहेका छन् । त्यसका लागि उनले विभिन्न एजेन्टसमेत परिचालन गरेर सूचना संकलन गरिरहेका बताइन्छ ।

मलेसियाले रबरसहित, तयारी पोसाक, विद्युतीय सामानहरू युरोपेली मुलुकहरूमा निर्यात गरिरहेको छ । यस्तो अवस्थामा मलेसिया जाने कामदार भर्नाको प्रक्रिया स्वच्छ तथा पूर्ण रूपमा मर्यादित भएको सुनिश्चितता हुन जरुरी छ । तर, त्यसअघि नै मलेसियाबाट डिमान्ड ल्याउने र कामदार पठाउने विषयमा प्रत्यक्ष तथा अप्रत्यक्ष सिन्डिकेट, बिचौलिया र अनुचित रकम असुली जस्ता विषय चर्चामा आए ।

त्यसले लामो समयपछि खुल्न लागेको मलेसियाको रोजगारीबाट नेपाल नै बिमुख हुन सक्ने खतरा उत्पन्न हुने कतिपयले टिप्पणी गरेका छन् । त्यसका लागि मलेसियास्थित नेपाली दूतावास विशेष चनाखो हुनुपर्ने उनीहरूको सुझावसमेत छ ।

के मलेसियाको रोजगारीमा सिन्डिकेट सम्भव छ ? मलेसियाको रोजगारीमा सिन्डिकेटको हल्ला चलाउने को हो ? यसबारे व्यवसायीहरूका अलावा विभिन्न क्षेत्रमा यसको सोधखोज भइरहेको छ । सम्बद्ध सूत्र भन्छ, ‘यो साउदी, कतारतिर विभिन्न बहानामा विभिन्न खालका सिन्डिकेट चलाइरहेकाहरूको खेती हो । मलेसियामा सिन्डिकेट हुँदै छ भनेर हल्ला चलाउने र खुल्न लागेको मलेसियाको रोजगारीलाई डिस्टर्ब गराउने नै यो गिरोहको खेल हो । मलेसिया बन्द भइरहँदा साउदी र कतारका धन्दावालहरूलाई कामदार फालाफाल प्राप्त भइरहन्छ र उनीहरू सिरानीमा पैसा गन्न मस्त हुन्छन् । उनीहरूलाई डर छ– मलेसिया खुलेमा साउदी, कतार जानेहरू सबै मलेसियातिरै जाने छन् र उनीहरूको आम्दानी घट्ने छ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर