काठमाडौं : विपक्षीसहित विभिन्न दल सम्मिलित समाजवादी मोर्चाले काठमाडौं केन्द्रित कार्यक्रम गर्ने भएको छ ।
बुधबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले १६ माघमा काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बैठक पछि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सबै दल मिलेर कार्यक्रम गर्न लागिएको बताए ।
उनले आजको बैठकमा मोर्चाको विगतका विषयमा समीक्षा भएको बताए । ‘आठौं बैठकपछि मोर्चाको बैठक बस्न सकेको थिएन । आजको नवौं बैठक हो । यस अवधिको विषयवस्तुमा केन्द्रित रहेर समीक्षा भयो । अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम भयो,’ उनले भने । उनले पार्टीको आन्तरिक कामहरूका कारण बैठक बस्न नसकेको बताए । त्यस्तै यसअघि मोर्चाको कार्यदलले प्रतिवेदन बनाउने काम भइरहेको पनि उनले बताए ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौंमा गर्ने भनिएको कार्यक्रम आमसभा हो । ‘हामीले कार्यक्रम भनेको आमसभा भनेका हौं,’ उनले भने, ‘उपयुक्त स्थान हेरेर सभा हुन्छ ।’
समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने गुरुङले बताए ।